प्रा. डा. कोँजुले छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने वा अन्य शंकास्पद लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुग्न तथा नियमित व्यायाम, सन्तुलित आहार र धूम्रपान त्याग्न आग्रह गरेका छन् ।
What you should know
काभ्रे — धुलिखेल अस्पतालमा मुटु रोगका बिरामी निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ।
धुलिखेल अस्पतालमा मंगलबार आयोजित ‘हृदयघात सेरोफेरो’ अन्तरक्रिया कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोँजुले प्रस्तुत गरेको तथ्यांकअनुसार विशेषगरी मुटुको रक्तनलीमा अवरोध हटाउन गरिने एन्जियोप्लास्टी सेवा लिने बिरामीको संख्या पछिल्ला पाँच वर्षमा झन्डै १७ गुणाले वृद्धि भएको हो ।
सन् २०२१ मा ९ जनामा एन्जियोप्लास्टी गरिएकोमा यो संख्या बढेर २०२५ मा १५८ पुगेको तथ्यांकमा उल्लेख छ । एन्जियोप्लास्टी गर्ने बिरामी २०२२ मा ३९, २०२३ मा ४९ र २०२४ मा ८१ थिए ।
त्यसैगरी मुटुको रक्तनलीको अवस्था पत्ता लगाउन गरिने एन्जियोग्राफी सेवा लिनेको संख्या पनि उल्लेख्य वृद्धि भएको डा. कोँजुले जनाए । २०२१ मा ६० जनामा गरिएको एन्जियोग्राफी २०२५ मा ४७६ जनाले सेवा लिएका तथ्यांकमा देखाइएको छ । उक्त सेवा लिने बिरामी २०२२ मा २६४, २०२३ मा ३५४ र २०२४ मा ३०९ थिए ।
प्रा. डा. कोँजुले पछिल्लो समय युवापुस्तामै हृदयघातका घटना बढ्दै जानु चिन्ताको विषय बनेको बताए । अनियमित खानपान, जंकफुडको बढ्दो प्रयोग, धूम्रपान, मद्यपान, व्यायामको कमी तथा तनावपूर्ण जीवनशैलीले युवाहरूलाई समेत मुटु रोगको जोखिममा पुर्याइरहेको डा. कोँजुको भनाइ छ ।
'पहिले उमेर ढल्किएपछि मात्र देखिने मुटु रोग अहिले ३०–४० वर्ष उमेर समूहमा समेत देखिन थालेको छ,' उनले भने, 'जीवनशैलीमा सुधार नगर्ने हो भने आगामी वर्षहरूमा मुटु रोग अझ ठूलो स्वास्थ्य चुनौती बन्न सक्छ।'
उनले मुटु रोगको समयमै पहिचान र उपचारका लागि एन्जियोग्राफी तथा एन्जियोप्लास्टी प्रभावकारी विधि भएको बताए । एन्जियोग्राफीबाट मुटुमा रक्तसञ्चार गर्ने धमनीको अवस्था परीक्षण गरिने र अवरोध भेटिएमा एन्जियोप्लास्टीमार्फत स्टेन्ट राखेर रक्तप्रवाह सहज बनाइने उपचार विधि भएको उनले जनाए।
विश्वभर मुटु तथा रक्तनलीसम्बन्धी रोग मृत्युको प्रमुख कारण रहेको उल्लेख गर्दै उनले नेपालमा पनि उच्च रक्तचाप, मधुमेह र अस्वस्थ जीवनशैलीका कारण मुटु रोगीको संख्या बढिरहेको बताए । तर आधुनिक उपचार प्रविधि र स्वास्थ्य सेवामा पहुँच विस्तार भएसँगै मुटु रोगका कारण हुने मृत्यु दर भने घट्दै गएको उनको भनाइ छ।
प्रा. डा. कोँजुले छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने वा अन्य शंकास्पद लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुग्न तथा नियमित व्यायाम, सन्तुलित आहार र धूम्रपान त्याग्न आग्रह गरेका छन् ।
