प्रतिकिलो मकैको समर्थन मूल्य ३५ रुपैयाँ तोकेर किसानले बजारमा कम पाउने अवस्था भए गाउँपालिकाले आफै खरिद गर्ने व्यवस्था मिलाइएको छ।
What you should know
हेटौंडा — मकवानपुरको बकैया गाउँपालिकाले मकैको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले किसानले उत्पादन गरेको मकैको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरेको हो ।
किसानले लागतअनुसार उचित मूल्य नपाएको गुनासो गरिरहेकाले पालिकाभित्रका किसानलाई राहत दिने उद्देश्यले मकैको समर्थन मूल्य निर्धारण गरेको अध्यक्ष धर्मराज लामिछानेले बताए । किसानले बजारमा समर्थन मूल्यभन्दा कम पाउने अवस्था भए गाउँपालिकाले तोकिएको मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
पालिकाले चालु आवदेखि मकैको समर्थन मूल्य निर्धारण गर्न सुरु गरेको हो । आफ्नो उत्पादन गाउँपालिकालाई बिक्री गर्न चाहाने किसानले पालिकाले सञ्चालन गरेको बकैया औद्योगिक ग्राममा मकै बिक्री गर्न सक्ने व्यवस्था पालिकाले मिलाएको छ । पालिकाले बकैया गाउँपालिका-७ हात्तीखोलामा कृषि औद्योगिक ग्राम स्थापना गरेको छ।
औद्योगिक ग्राममा चौपायाका लागि आवश्यक पर्ने दाना र घाँस उद्योग स्थापना गरेर संचालनमा ल्याएका छन् ।
पालिकाले ढोडसहित र मकैका दाना पनि खरिद गर्ने गरेको छ । मकैको ढोड घाँस उत्पादनमा प्रयोग गरिन्छ भने मकै दाना उद्योगमा प्रयाग गर्ने गरिएको छ । भूगोल हिसाबले मकवानपुरको सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा रहेको यहाँका अधिकांश बासिन्दा मकै खेती गर्ने गर्छन् । बकैया गाउँपालिका कृषि विकास शाखाका अनुसार १ सय ४० विघामा मकै खेती गरिँदै आएको छ ।
मकै बिक्री गर्नका लागि बकैया गाउँपालिकाभित्रका किसान प्रमाणित हुने नागरिकताको प्रतिलिपि बुझाउनु पर्नेछ । गाउँपालिकाले स्थानीय स्तरमा नै रोजगारी सिर्जना र कृषि अर्थतन्त्र बलियो बनाउन औद्योगिकग्राम सञ्चालनमा ल्याएको हो । गाउँका किसानलाई सस्तोमा दाना र घाँस उपलब्ध गराएर पशुपालनमा आकर्षित गर्ने उद्देश्यका साथ आफ्नै लगानीमा औद्योगिक ग्राम सञ्चालन गरी साइलेज तथा दाना उत्पादन गरेर स्थानीय किसानलाई सहुलियतमा उपलब्ध गराउँदै आएको छ ।
उक्त कृषि औद्योगिक ग्राममा पालिका प्रांगारिक मल पनि उत्पादन गर्दै छ भने शीतभण्डार पनि निर्माण गरिरहेको छ। ठिगन, धियाल, छतिवन, शिखरपुर र मन्थली गाविस समेटेर १२ वटा वडामा स्थापना भएको बकैया गाउँपालिकामा ८ हजार ६ सय ६४ घरधुरी रहेका छन् ।
४६० वर्गकिलोमिटरमा फैलिएको पालिकाको ४० हजार ६ सय ७१ जनसंख्या रहेको छ । मकवानपुरका भीमफेदी र मकवानपुर गढी गाउँपालिकाले पनि कोदो, फापर, जुनेलो न्यूनतम समर्थन मूल्य तोकेका छन् ।
