पुल निर्माणका लागि तुँदी कन्स्ट्रक्सनसँग सन् २०२३ को जुन दुईमा सम्झौता भएको थियो ।
What you should know
चितवन — नारायणी नदीमा नयाँ पुल बन्ने चर्चा सुरु भएको वर्षौ भयो । निर्माण कम्पनीसँग चार वर्षभित्र काम सक्ने गरेर सम्झौता भएको पनि गएको मंगलबार तीन वर्ष पूरा भयो ।
तत्कालीन प्रधानमन्त्री र मन्त्री आएर पुलको शिलान्यास गरेको दुई वर्षभन्दा बढी भयो । तर नयाँ पुल निर्माणमा भौतिक प्रगति कति भयो ? पुल ओहर दोहर गर्नेले अझै देख्न पाएका छैनन् ।
गैंडाकोटकी गीता पौडेलको नारायणगढ पुलचोकमा बिजुली पसल छ । यो पुल हुँदै उनी दिनहुँ ओहर दोहर गर्छिन् । नारायणीको पुल पुरानो भयो नयाँ बन्दै छ भनेर सुन्न लागेको पाँच सात वर्ष भयो भन्छिन उनी । ‘प्रधानमन्त्री, मन्त्रीहरुको टोली आएर शिलान्यास गरेको देखेको थिएँ । तर पुलको काम निकै सुस्त भएझै लाग्छ,’ पौडेलले भनिन् । पुरानो पुललाई केही नहुँदै नयाँ पुल बनोस भन्ने उनको कामना छ ।
पुल ओहर दोहर गर्दा थर्कने र हल्लिएको झै लाग्ने गरेका कारण उनले नयाँ पुल चाँडै बनोस भन्ने चाहना राखेको बताइन् । ‘कहिले काही ठूला ठूला ट्रकहरु बिग्रेर बीचमा बसेका हुन्छन् । हिजो पनि एउटा ठूलो ट्रक बिग्रेर बसेको थियो । पुल थर्कन्छ । त्यसैले चाँडै नयाँ पुल बने ढुक्क भइन्थ्यो । यति धेरै गाडी ओहरदोहर गर्ने महत्वपुर्ण पुल जति सक्दो चाँडो बन्नु पर्ने हो,’ उनले भनिन् ।
अन्यत्रको भन्दा नौलो डिजाइनको भएका कारण नारायणीमा बन्न लागेको नयाँ पुललाई ‘सिग्नेचर ब्रिज’ भन्ने गरिन्छ । तर यो ‘आइकोनिक ब्रिज’ भएको प्राविधिकहरु बताउँछन् । पुल निर्माणका लागि तुँदी कन्स्ट्रक्सनसँग सन् २०२३ को जुन दुईमा सम्झौता भएको थियो । पुलको डिजाइन नै निर्माण कम्पनीले तयार गरेर बनाउने गरी सम्झौता भएको थियो । तर पुल डिजाइन् स्वीकृत हुन समय लाग्यो ।
सम्झौताको वर्ष दिनभित्र डिजाइन पूरा गर्ने र त्यसपछि थप तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । ‘तर डिजाइन् परिवर्तन गर्नु पर्ने अवस्था आयो । जसका कारण गएको कात्तिकमा मात्रै पुलको डिजाइन स्वीकृत भयो । सम्झौताभन्दा १६ महिना ढिला गरेर डिजाइन स्वीकृत भएका कारण निर्माणमा असर पुगेको हो,’ भरतपुरको डिभिजन सडक कार्यालयका साइट इन्जिनियर सन्तोष भण्डारीले भने ।
पुलको दुईवटा टावर हुने छन् । अहिलेसम्म टावरको काम सुरु भएको छैन । नारायणगढ तर्फको टावरको पाइल (पिल्लरको जमिन तल रहने जग)को कंक्रिटको परिक्षण भयो । लोडको परीक्षण बाँकी रहेको उनले जानकारी दिए । अहिले नारायणगढ तर्फको अबटमेन्टको पाइलको काम भइरहेको इन्जिनियर भण्डारीले बताए। पुल सुरु हुने र अन्त्य हुने ठाउँमा बन्ने कंक्रिटको संरचनालाई अबटमेन्ट भनिन्छ ।
अबटमेन्टमा आठवटा पाइल रहन्छन् । ‘जमिन मुनी ३५ मिटर पाइल रहन्छ । अबटमेन्टमा आठवटा पाइल छन् । जसमध्ये दुईवटाको पुरा भयो । तेस्रोको काम भइरहेको छ । यताको काम सकिएपछि गैंडाकोट तर्फको अबटमेन्टको काम सुरु हुन्छ,’ इन्जिनियर भण्डारीले भने । बर्खा लागेका कारण टावको काम सुरु हुन नसक्ने उनले बताए । बर्खा सकिएपछि आउँदो हिउँदमा टावरको काम सुरु हुने छ ।
नारायणगढको नारायणी नदीमा बनेको हालको पुलको सिलान्यास २०३८ सालमा भएको थियो । झण्डै चार वर्ष लगाएर बनेको त्यो पुल पुरानो र साँघुरो हुँदै गएको छ । पुरानो पुलकै आडमा नयाँ पुल बन्न लागेको हो । पूर्व पश्चिम महेन्द्र राजमार्ग पहिलाको भन्दा फराकिलो बनेको छ । पुरानो पुल सडक अनुसार चौडा नहुँदा गाडीहरु आरपार हुन गाह्रो हुने गरेको छ ।
नयाँ बन्ने पुलको कुल लागत एक अर्ब ६८ करोड रुपैयाँ छ । अबटमेन्टको सय मिटरको फरकमा टावर रहने छन् । दुईवटा टावरको बीचको दुरी २२० मिटर रहने छ । पुलको कुल लम्बाइ ४२० मिटर छ । जल यातायता सञ्चालन गर्न मिल्ने गरेर पुल बन्दै छ । तर जगकै काम सुरुवाती अवस्थामा रहेका कारण पुलको भौतिक प्रगति शून्यकै अवस्थामा रहेको इन्जिनियर भण्डारीले बताए ।
