पिकअप चालक बुढाथोकी नेपाली सेनाका भूतपूर्व हवल्दार रहेको प्रहरीले जनाएको छ।
हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिकामा बुधबार राति पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी र गाडीमा सवार काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनामा कार्यरत बारा जिल्लाको पचरौता नगरपालिका–७ का २१ वर्षीय इन्जिनियर सूर्य यादवको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।
पिकअप चालक बुढाथोकी नेपाली सेनाका भूतपूर्व हवल्दार रहेको प्रहरीले जनाएको छ।
बुधबार राति करिब ११ बजे भीमफेदीस्थित माण्डु जलविद्युत् आयोजनाबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप गाडी भीमफेदी–८, बैदमारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको उक्त पिकअप गाडी सडकबाट करिब १०० फिट तल खसेर दुर्घटना भएको थियो।
मृतकहरूको शव बिहीबार बिहान हेटौंडा अस्पताल ल्याइएको छ।
