रास्वपा रामेछापमा तदर्थ समितिलाई नै निरन्तरता, रमेश रायमाझी बने पुनः सभापति

लामो छलफल र सहमति प्रयासपछि अधिवेशनले यसअघि कार्यरत तदर्थ समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

जेष्ठ २४, २०८३

नवराज श्रेष्ठ

Ad-hoc committee to continue in RSVP Ramechhap, Ramesh Rayamajhi re-elected as chairman

रामेछाप — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको प्रथम जिल्ला अधिवेशनले नेतृत्व चयनमा देखिएको रस्साकस्सीका बीच अन्ततः पुरानै तदर्थ समितिलाई नै सर्वसम्मत रूपमा निरन्तरता दिएको छ।

शनिबार सदरमुकाम मन्थलीस्थित तीनलाल पार्कमा सम्पन्न अधिवेशनले लामो छलफल र सहमति प्रयासपछि यसअघि कार्यरत तदर्थ समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो। नेतृत्वका लागि केही आकाङ्क्षी देखिएपछि सहमति जुटाउन समय लाग्ने अड्कलबाजी भए पनि अन्ततः संगठनात्मक एकता कायम गर्दै पुरानै नेतृत्वलाई निरन्तरता दिइएको हो।

नयाँ कार्यसमितिअनुसार सभापतिमा रमेशकुमार रायमाझी चयन भएका छन् भने उपसभापतिमा मोहन कार्की, सचिवमा दिलबहादुर थापा (दिनेश), सहसचिवमा टेकबहादुर सुनुवार र कोषाध्यक्षमा समीक्षा श्रेष्ठ चयन भएका छन्।

सदस्यहरूमा अर्जुन श्रेष्ठ, लक्ष्मण बस्नेत, कमल कार्की, ईश्वरी लामिछाने, केशव रोक्का र चन्द्रा खड्का चयन भएका छन्। चन्द्रा खड्कालाई हाल डेनमार्कमा रहेका मन्थली नगरपालिका–१४ का पूर्व जिल्ला सदस्य रमेशकुमार खड्काको स्थानमा मनोनित गरिएको उपसभापति मोहन कार्कीले जानकारी दिए ।जिल्लाभर करिब ७ हजार सदस्य पार्टीमा आबद्ध रहेको रास्वपा रामेछापले दाबी गरेको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully