२०८१ भदौको पहिरोपछि पाखा टोलको थामी बस्तीका २२ परिवार खानेपानी, बिजुली र पूर्वाधार अभावमा टहरामा संघर्ष गर्दै बसेका छन्।
What you should know
काठमाडौँ — दोरम्बा शैलुङ गाउँपालिका–१ तल्लो मजुवाको एक साँघुरो बस्तीमा जस्ताले बारिएको सानो टहरो छ। त्यही टहरो अहिले मीनकुमारी थामीको परिवारको घर बनेको छ। तर यो घर रोजाइको नभइ विपत्तिले थोपरेको बाध्यता हो।
२०८१ भदौ ८ को अविरल वर्षासँगै पाखा टोल बस्तीमाथि पहिरोको जोखिम बढ्यो। जमिन चिरिन र बग्न थाल्यो । बस्ती असुरक्षित बन्यो। त्यसपछि सुरु भएको त्रासले मीनकुमारीको परिवार महिनौं त्रिपालमूनि बस्न बाध्य भए । अन्ततः पुस्तौंदेखि बस्दै आएको घर छाडेर सुरक्षित स्थान खोज्दै उनीहरू तल्लो मजुवातर्फ सरे।
तर नयाँ ठाउँले पनि स्थायित्व दिन सकेन। ऋणधन गरेर किनिएको सानो जग्गामा बनाइएको जस्ताको टहरो अहिले उनीहरूको अस्थायी आश्रय बनेको छ। एक कोठे संरचना, न बिजुली, न पर्याप्त खानेपानी । उनीहरुको दैनिक जीवन आधारभूत सुविधाकै अभावमा गुज्रिरहेको छ। मीनकुमारीको अनुहारमा थकानभन्दा बढी सन्तानको भविष्यको चिन्ता झल्किन्छ । 'बिजुली बत्तीको व्यवस्था छैन। खानेपानी पनि अपुग छ,' उनी भन्छिन्, 'यो टहराको बसाइमा आफ्नै दुःखभन्दा सन्तानको भविष्यको चिन्ता बढी छ।'
यहाँका बालबालिकालाई विद्यालय पु¥याउन र ल्याउनै ठूलो चुनौती छ। मीनकुमारीका अनुसार विद्यार्थीहरू दैनिक करिब दुई घण्टा पैदल हिँडेर विद्यालय पुग्न बाध्य छन्। 'खेतीपाती, वस्तुभाउ बाख्रा र घरायसी काम पाखा टोलमै छ, जसोतसो चलिरहेको छ,' उनी भन्छिन्, 'तर सबैभन्दा ठूलो समस्या बच्चालाई विद्यालय पु¥याउने हो। यो कहिलेसम्म चल्ने हो, थाहा छैन।'
सोही बस्तीका पञ्चबहादुर थामीको कथा पनि मीनकुमारीको भन्दा फरक छैन। पहिरोको जोखिम बढेपछि पुख्र्यौली घर छाड्न बाध्य भएका उनी अहिले परिवारसहित जस्ताको सानो टहरामा बसिरहेका छन्। अस्थायी आश्रयका रूपमा बनाइएको एक कोठे टहराभित्र १० जना बढीको परिवार अटाउनै मुस्किल छ। 'अन्त जाने कतै ठाउँ छैन,' पञ्चबहादुर भन्छन्, 'सबैले पैसा उठाएर किनेको जग्गामा सानो जस्ताको टहरो बनाएका छौं। मेरो त नौ जना छोरा–छोरी छन्। यो सानो टहरामा परिवार नै अटाउन गाह्रो छ।'
उनका अनुसार साँघुरो टहरोमा बस्न र सुत्नसमेत समस्या छ। जीविकोपार्जनको अर्को आधार मानिने पशुपालनको सम्भावना पनि टरेको छ। 'मान्छे बस्न नै गाह्रो छ,' उनी भन्छन्, 'बाख्रा–वस्तु पाल्ने त परको कुरा भयो।'
२०८१ भदौ ८ को अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित अति सीमान्तकृत थामी समुदायको पाखा टोल बस्ती पहिरोको उच्च जोखिममा पर्यो। बस्ती नै बग्न थालेपछि स्थानीयवासी त्रसित बने । ज्यान जोगाउन घर छाड्न बाध्य भएका धेरै परिवारले महिनौँसम्म त्रिपालमूनि कष्टकर जीवन बिताए ।
विपद्पछि स्थानीय सरकार, सरकारी निकाय तथा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा पहिरोपीडित परिवारलाई जस्तापाता उपलब्ध गराइयो । त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त करिब ३ लाख रुपैयाँ सहयोग रकमले पुनस्र्थापनाको प्रयासलाई केही सहज बनायो । त्यसमा पीडित परिवारहरूले आफ्नै स्रोतबाट थप रकम जुटाएपछि पाखा टोलका बासिन्दाले सामूहिक रूपमा करिब २० लाख रुपैयाँमा तल्लो मजुवामा जग्गा खरिद गरे । हाल तल्लो मजुवामा पहिरोका कारण पाखा टोलबाट विस्थापित २२ परिवार अस्थायी जस्ताका टहरामा बसिरहेका छन् ।
सुरक्षित ठाउँको खोजीमा नयाँ ठाउँमा पुगेपछि पहिरोको प्रत्यक्ष जोखिमबाट त उनीहरू जोगिए । तर आधारभूत आवश्यकताबाट भने अझै टाढै छन्। खानेपानी, विद्युत्, सडक तथा अन्य पूर्वाधारको अभावले विस्थापित परिवारको दैनिकी कष्टकर बनेको छ। उमेरले ५० पुग्नै लागेकी फूलमाया थामी नयाँ बस्तीमा बिताइरहेको जीवन सम्झँदा आशा र निराशाको दोसाँधमा देखिन्छिन्। विपत्तिपछि सरकारले साथ दिने अपेक्षा अझै बाँकी रहेको उनी बताउँछिन्। 'सरकारले घर बनाइदेला, बस्न मिल्ने ठूलो जग्गा व्यवस्थापन गरिदेला, बिजुली, पानी र सडक आउँला भन्ने आशा मरेको छैन,' उनी भन्छिन्, 'तर अहिले त एउटा जस्ताको कोठा बाहेक केही छैन।' उनका अनुसार अस्थायी टहराभित्रको जीवन सहज छैन। चिसो भूईँमा दिनरात बिताउनुपरेको छ भने दैनिक आवश्यकताका लागि पनि निकै संघर्ष गर्नुपरेको छ।
वडा सदस्यसमेत रहेका पहिरोपीडित मंगले थामीका अनुसार विपत्तिको त्यो घडीमा थामी समुदाय अन्योलमा थियो। कहाँ जाने, कसरी बस्ने र भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले सबै परिवारलाई सताएको थियो। 'त्यो बेला के गर्ने, के नगर्ने भन्ने अवस्था थियो,' उनी सम्झिन्छन्, 'पहिरोको त्रासले महिनौं त्रिपालमूनि पनि बस्नुपर्यो ।'
उनका अनुसार विभिन्न व्यक्ति तथा संस्थाबाट करिब तीन लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। तर सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न त्यो रकम पर्याप्त थिएन। अन्ततः पीडित परिवारहरूले आफैं थप रकम जुटाएर नयाँ जग्गा खरिद गर्ने निर्णय गरे। 'सहयोगबाट आएको ३ लाख रुपैयाँमा पीडित परिवारहरूले नै थप १७ लाख रुपैयाँ संकलन गरे,' मंगले भन्छन्, 'त्यसरी करिब २० लाख रुपैयाँको जग्गा किनेर तल्लो मजुवामा जस्ताका टहरा बनाएर बसिरहेका छौं ।'
तर नयाँ ठाउँमा बसाइँ सरे पनि पुरानो बस्तीसँगको सम्बन्ध टुटेको छैन। जीविकोपार्जनका मुख्य आधार खेतीपाती, पशुपालन र अन्य सम्पत्ति अझै पाखा टोलमै छन्। त्यसैले धेरै परिवार जोखिम कायमै रहेको पुरानो घरमा समेत बस्न बाध्य छन्। 'बाख्रा–वस्तु, खेतीपाती र राखन धरण सबै पाखा टोलमै छ, ' उनी भन्छन्, 'धेरै परिवार अझै जोखिममा रहेका घरमै बस्ने गरेका छन्। पानी पर्न थालेपछि मात्रै डरले तल्लो मजुवाको टहरामा झर्ने गर्छन्।'
पाखा टोलका विस्थापित थामी समुदाय अहिले दुई बस्तीबीच विभाजित जीवन बाँच्न बाध्य रहेको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका प्रेमकुमार लामा बताउँछन् । उनका अनुसार पहिरोको जोखिमले पुरानो बस्ती छाड्न बाध्य भएका परिवार न पुरानो ठाउँसँग पूर्ण रूपमा सम्बन्ध तोड्न सकेका छन् न नयाँ ठाउँमा व्यवस्थित रूपमा बसोबास गर्न सकेका छन्।
'एकातिर पहिरोको त्रास अवस्थित पुरानो बस्ती छ, अर्कोतिर आधारभूत सुविधा समेत नपुगेको जस्ताको टहराको बसाइँ,' लामा भन्छन्, 'सुरक्षित र स्थायी पुनः स्थापनाको अभावमा यहाँका मानिसको दैनिकी अझै कष्टकर छ।'
उनका अनुसार स्थानीय सरकारले आफ्नै स्रोत र साधनले समस्या समाधान गर्ने अवस्था छैन। बस्ती स्थानान्तरण र व्यवस्थित पुनः स्थापनाका लागि आवश्यक बजेट तथा पूर्वाधार निर्माण स्थानीय तहको क्षमता बाहिरको विषय भएकाले संघ र प्रदेश सरकारको सहयोग अपरिहार्य छ। 'हामीले संघ र प्रदेश सरकारका सम्बन्धित निकायहरूमा पटक–पटक समस्या लिएर गयौं,' उनले भने, 'तर अहिलेसम्म ठोस सुनुवाइ भएको छैन। सबैले पहिले वस्तुस्थिति बुझ्नुपर्छ भन्ने जवाफ मात्रै दिने गरेका छन्।'
उनका अनुसार केही समयअघि सरकारी टोलीले बस्तीको स्थलगत अध्ययन तथा सर्वेक्षणसमेत गरेको थियो। तर त्यसपछि पुनः स्थापनाको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे स्थानीयले कुनै जानकारी पाएका छैनन्। फेरि मनसुन नजिक आए पनि विस्थापित परिवारहरू अझै करिब ५० हजार रुपैयाँ खर्च गरेर बनाइएका साना टिनका टहरामै जीवन बिताउन बाध्य रहेको उनले बताए ।
