बेथानचोकले वैदेशिक रोजगारीबाट फर्किएकालाई व्यवसाय सञ्चालन गर्न सहुलियतमा कर्जा दिने

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आय आर्जनका अवसर विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा तथा अन्य प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको पालिकाले जनाएको छ ।

जेष्ठ २१, २०८३

ज्योती श्रेष्ठ

Bethanchowk to provide concessional loans to returnees from foreign employment to run businesses

What you should know

काभ्रे — स्वदेशमै व्यवसाय तथा उद्यम गर्नका लागि वैदेशिक रोजगारीबाट फर्किएकालाई काभ्रेको बेथानचोक गाउँपालिकाले सहुलियतमा कर्जा प्रवाह गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उद्यमशीलतामा जोड्नका लागि पालिकाले सहुलियतमा कर्जा प्रवाह गर्न लागेको हो । 

वैदेशिक रोजगारीबाट फर्किएकाहरूसँग छलफल गर्ने क्रममा कृषि व्यवसाय तथा उद्यम विकास गर्नका लागि पालिकासँग सहुलियतमा कर्जाको माग गरेका हुन् । चार वर्ष मेलेसियामा रोजगारी गरेर फर्किएका काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ३ का रामप्रसाद तिमल्सिनाले स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नका लागि सरकारले  सहुलियतमा कर्जा प्रवाह गर्नुपर्ने बताए । उनका अनुसार, विदेशमा आफूले प्राप्त गरेको ज्ञान र सीपलाई सदुपयोग गर्न सकेमा पनि स्थानीय स्तरमा धेरै विकास गर्न सकिन्छ । ‘वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्वेदशमा व्यवसाय गर्नका लागि हामीलाई सहुलियतमा कर्जा प्रवाह गरेमा यहीँ हामीले धेरै आय आर्जन गर्न सक्ने थियौं,’ उनले भने, ‘यो ठाउँमा कृषि तथा पशुपालनको लागि धेरै सम्भावना देखिन्छ, कृषि तथा पशुपालनका लागि नै कुनै न कुनै कार्यक्रममा स्थानीय सरकारले जोडेमा आर्थिक उन्नति गर्न सकिन्थ्यो ।’

त्यस्तै, वडा नं ३ की महिमा विक पाँच वर्ष दुबईमा परिश्रम गरेर नेपाल फर्किइन् । नेपाल फर्किएपछि केही व्यापार व्यवसाय गर्ने सोच आएपछि पर्याप्त कर्जा नभएकाले आफूले व्यापार व्यवसाय गर्न नसकेको उनले बताइन् । छलफलका क्रममा वैदेशिक रोजगारीबाट फर्किएकाहरूको अवस्था बुझ्न र उनीहरूलाई व्यवसायमा जोड्नका लागि पालिकाले सञ्चालन गरेको कार्यक्रम निकै नै प्रभावकारी भएको उनले बताइन् । ‘हामीले यहाँ गर्न सक्ने भनेकै कृषि तथा पशुपालन हो,’ उनले भनिन्, ‘यसैलाई हामीले व्यावसायिक रूपमा सञ्चालन गर्न सक्यौं भने राम्रो आम्दानी हुन्थ्यो, यसका लागि हामीलाई यहाँको स्थानीय सरकारले सहुलियतमा कर्जा उपलब्ध गराएमा धेरै सहज हुन्थ्यो ।’ 

स्थानीय सरकारले केही रकम सहुलियतमा प्रदान गरेमा आफूले यहाँ कृषि तथा पशुपालन गर्ने सोच बनाएको बेथानचोक गाउँपालिका वडा नं २ का रवीन्द्र तिमिल्सिनाले बताए । ११ वर्ष मलेसियामा श्रम गरेर फर्किर्एपछि सेक्युरिटीमा काम गर्दै आएका उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उद्यम तथा व्यवसायमा जोड्नको लागि केही कार्यक्रम तथा बजेटको व्यवस्था गर्नुपर्ने भनाइ राखेका थिए । 

छलफलको क्रममा वैदेशिक रोजगारीबाट फर्किएकाहरूले उद्यम तथा व्यवसाय सञ्चालन गर्नको लागि सहुलियतमा कर्जा प्रवाह गर्नुपर्ने माग राखेपछि गाउँपालिकाले ४ प्रतिशत ब्याजदरमा अधिकतम २० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार गाउँपालिकाले कर्जाको ब्याजमध्ये ५ प्रतिशत व्यहोर्ने र लाभग्राहीले ४ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने व्यवस्था गरिनेछ । ‘बेथानचोकबासीका लागि गाउँपालिकाभित्र नै सहुलियत ब्याजदरमा आधुनिक कृषि कार्यक्रमसमेत लागू भइसकेको छ,’ उनले भने, ‘सोही कार्यक्रममा उहाँहरूलाई समेट्ने छौं, उहाँहरूले नयाँ योजना तथा कार्यक्रम ल्याए त्यसको पनि अध्ययन गरेर कार्यक्रम सञ्चालन गरिनेछ ।’ 

वैदेशिक रोजगारीबाट फर्किएका युवासँग विदेशमा आर्जन गरेको सीप, अनुभव, ऊर्जा र क्षमता रहेको उल्लेख गर्दै त्यसलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न आवश्यक रहेको उनले बताए । गाउँपालिकाले उनीहरूलाई कृषि, उद्यम तथा स्वरोजगारमूलक विभिन्न कार्यक्रममा आबद्ध गराउने प्रयास गरिरहेको उनको भनाइ थियो । ‘कार्यक्रममा सहभागी भएर आधुनिक कृषि फर्म सञ्चालन गर्नुस्,’ उनले भने, ‘थप नयाँ कार्यक्रमको आवश्यकता देखिएमा गाउँपालिकाले त्यसमा पनि आवश्यक सहयोग गर्नेछ ।’

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आय आर्जनका अवसर विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा तथा अन्य प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको  पालिकाले जनाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully