बागमतीका १० जिल्लामा १० महिनाको अवधिमा ६५८ सवारी दुर्घटना, २८१ जनाले ज्यान गुमाए

प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा साउनदेखि वैशाख महिनासम्ममा दुई सय ८१ जनाले ज्यान गुमाएका छन्।

जेष्ठ २१, २०८३

प्रताप विष्ट

658 vehicle accidents in 10 districts of Bagmati in 10 months, 281 people lost their lives

What you should know

हेटौंडा — बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एकहजार ६ सय ५८ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा साउनदेखि वैशाख महिनासम्ममा दुई सय ८१ जनाले ज्यान गुमाएका छन् भने तीन हजार दुईसय ९६ जना घाइते भएका छन् ।

गत आर्थिक वर्ष २०८१/०८२ मा यी दश जिल्लामा २ हजार ४ सय २२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ३६ सवारी दुर्घटना भएको थियो । जसमा ३१५ जनाले ज्यान गुमाएको तथ्याकंले देखाएको छ । तथ्याकंका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा अघिल्लो वर्ष मृतक संख्या ११ ले कम हो ।

यसैगरी अघिल्लो आव २०८०/०८१ मा १ हजार ५ सय ३६ सडक दुर्घटना भएका थिए । गत आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ४ सय २२ दुर्घटना भएका थिए । जसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८ सय ३६ घटना बढी भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा छ । 

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ हजार ६ सय ५८ सवारी र्दुघटना भएका छन् । बागमतीको चितवनमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण चितवनका मात्रै १२० जनाले ज्यान गुमाएका छन् । यसवर्ष चितवनमा यो अवधिमा ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । दश महिनामा चितनवमा ४ सय ८४ सवारी दुर्घटना भएका छन् । ८७ जना गम्भीर घाइते भएका छन् भने ८ सय ९ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या धेरै चितवन पछि मकवानपुरका छन् । मकवानपुरमा गत आवमा मा ४ सय ७ सवारी दुर्घटनामा परेर ५० जनाले ज्यान गुमाएका थिए । यसवर्ष मकवानपुरमा ५३ जनाको मृत्यु भएको छ । सडकको दुरावस्था,चालकको लापरबाही, सवारी साधनको बढ्दो चाप र बाढीपहिरोसहित जोखिमयुक्त सडक मार्ग भएकाले सवारी दुर्घटना दैनिक रुपमा बढ्दै गएको प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully