हेटौंडा बसपार्कबाट उद्धार गरिएका २१ बालकलाई अभिभावकको जिम्मा लगाइयो

गुम्बामा पढ्न भन्दै भारत लैजाँदै गरेका बालकलाई प्रहरीले उद्धार गरी अभिभावक बोलाएर घर फिर्ता पठाएको छ ।

जेष्ठ २१, २०८३

प्रताप विष्ट

21 children rescued from Hetauda bus park handed over to their parents

What you should know

हेटौंडा — भारतको देहरादुनतर्फ लैजाँदै गरेका २१ बालकलाई हेटौंडा बसपार्कबाट उद्धार गरिएको छ । सिन्धुली, बारा, धादिङ र सर्लाही जिल्लाबाट आएका बालकलाई जम्मा पारेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बसपार्कबाट विभिन्न संस्थाहरुसहित प्रहरीले बुधबार उद्धार गरेको हो ।

एक बौद्ध धार्मिक गुरुमाथि शंका लागि सोधपुछ गर्दा बालकहरुलाई भारतको देहरादुनको मण्डुवाला चोकस्थित गुम्बामा पठनपाठनका लागि लैजान लागेको बताएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ ।

बालबालिका संरक्षणको क्षेत्रमा कार्यरत सिविन नेपाल (बाल हेल्पलाइन), साना हातहरु नेपाल, माइती नेपाल र प्रहरीको संयुक्त पहलमा भएको खोजीमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–८ का विकास लामालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बालकहरुलाई परिवारको सहमतिमा देहरादुन लैजान लागेको बताएका थिए।

उद्धार गरिएका बालकहरु ४ वर्षदेखि १८ वर्षसम्मका रहेको सिविन नेपालका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए । अभिभावकले नै पठाएपछि गुम्बामा पाँच वर्षअघिदेखि नै पढ्दै आएको र पटक–पटक जाँदै आउँदै गरेको बालकहरुले बताएका छन् । गुम्बामा तिब्बती तथा अंग्रेजी भाषामा बुद्धको ज्ञानका विषयमा पठनपाठन हुने गरेको बालकहरुले बताएका हुन् ।

बालबालिकालाई संरक्षकबिना विदेशमा एक्लै पठाउन नहुने प्रावधान हुँदाहुँदै पनि निजगढ नगरपालिका वडा ११ र १२ कार्यालयबाट विदेशी गुम्बामा पठनपाठनका लागि सिफारिस दिएको पाइएको छ ।

नेपालको बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ को उपदफा ३ मा कुनै पनि बाबु, आमा, परिवारका सदस्य वा संरक्षकले आफ्ना छोराछोरी वा संरक्षकत्वमा रहेका बालबालिकालाई बेवारिसेछाड्न नपाइने उल्लेख छ भने सोही ऐनको दफा १७ को उपदफा ५ मा बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकले ५ वर्ष उमेर नपुगेका बालबालिकालाई निवास वा अन्य स्थानमा एक्लै छाड्न वा उमेर पुगेको संरक्षकको साथ नलगाई एक्लै पठाउन नहुनेसमेत व्यवस्था रहेको छ । उद्धार गरिएका बालकका अभिभावकहरुलाई बोलाएर घर फिर्ता पठाएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully