शनिबार साँझ मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा उक्त दुर्घटना भएको हो ।
मकवानपुर — मकवानपुर र ललितपुरको सीमानामा पर्ने बागमती खोलाको पुलबाट एउटा टेलर गाडी खस्दा चालक बेपत्ता भएका छन् भने सहचालकको सकुशल उद्धार गरिएको छ ।
शनिबार साँझ मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट बगुवातर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको टेलर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थियो । बागमती हाइड्रोपावरको फलामे पाइप बोकेको उक्त टेलरको पाइप बाँधिएको टुचिन (तार) अचानक चुडिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनापछि टेलरका चालक हेटौंडा उपमहानगरपालिका–३ निवासी करिब ३० वर्षीय दलबहादुर बर्तौला खोलामा बेपत्ता भएका छन् । उनको खोजी कार्य तीव्र पारिएको छ । गाडीका सहचालक राक्सिराङ गाउँपालिका–९ निवासी १७ वर्षीय प्रशन्न प्रजा भने सुरक्षित फेला परेका छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थल पुगेको थियो । यस्तै, नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको कमाण्डमा ७ सदस्यीय टोली पनि उद्धार तथा बेपत्ता चालकको खोजी कार्यमा खटिएको छ ।
