गुणस्तरीय शिक्षा र पूर्वाधारका कारण केही विद्यालयमा विद्यार्थीको चाप बढे पनि अधिकांश ग्रामीण विद्यालयमा भने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ।
What you should know
रामेछाप — जिल्ला सदरमुकामका केही विद्यालयमा विद्यार्थी थेग्नै मुस्किल परिरहेका बेला ग्रामीण भेगका दर्जनौं विद्यालय भने विद्यार्थी अभावले अस्तित्व जोगाउने सङ्घर्षमा छन् । कतिपय विद्यालय दुईदेखि पाँच जना विद्यार्थीका भरमा कक्षा सञ्चालन भइरहेका छन् ।
सुनापाति गाउँपालिका–४ बेथानस्थित डहु माध्यमिक विद्यालयमा अहिले ३० जिल्लाबाट आएका ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका अनुसार भर्ना हुन आउने सबै विद्यार्थीलाई स्थान अभावका कारण समेट्न सकिएको छैन । ग्रामीण परिवेशमै अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र व्यवहारिक सिकाइ हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ आउने गरेका छन् ।
प्रधानाध्यापक दलबहादुर वलका अनुसार काभ्रे, दोलखा, ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, रौतहट, महोत्तरी र झापासहित काठमाडौं, मकवानपुर, बझाङ, म्याग्दी, डोटी, नवलपरासी, बैतडी, सल्यान, सप्तरी, अर्घाखाँची, सिराहा, चितवन, सुर्खेत, सर्लाही र सुनसरीलगायत जिल्लाका विद्यार्थी आवासीय रूपमा अध्ययन गरिरहेका छन् । 'गुणस्तरीय शिक्षाकै कारण अभिभावकको आकर्षण बढ्दो छ, तर विभिन्न कारणले सबैलाई समेट्न सकिएको छैन,' उनले भने । डहु माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उल्लेखनीय नतिजा निकालेको छ । परीक्षामा सहभागी ६६ विद्यार्थीतर्फ ११ जनाले ४ जीपीए ल्याएका छन् ।
सदरमुकाम मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयको अवस्था पनि उस्तै छ । कक्षा १२ सम्म सञ्चालन भइरहेको विद्यालयमा अहिले २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालका अनुसार एसइई २०८२ मा सहभागी १६५ विद्यार्थीमध्ये २ जनाले ४ जीपीए ल्याउँदा ४३ जनाले ३.६१ देखि ३.९६ जीपीएसम्म अंक प्राप्त गरेका छन् । जिल्लाका यी दुई विद्यालयमा विद्यार्थीको चाप बढिरहेका बेला ग्रामीण क्षेत्रका धेरै सामुदायिक विद्यालय भने विद्यार्थी अभावले सुनसान बन्दै गएका छन् । कति विद्यालय बन्द नै भइसकेका छन् भने धेरै विद्यालय तह घटुवा भइरहेका छन् ।
पाँच विद्यार्थी पनि नभएका १६ विद्यालय
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार गत शैक्षिक सत्रसम्म जिल्लाभर १०८ आधारभूत विद्यालय सञ्चालनमा छन् । तीमध्ये १६ विद्यालय विद्यार्थी अभावकै कारण प्रारम्भिक बाल विकास (इसिडी) कक्षामा सीमित भएका छन् ।
इकाइका अनुसार इसिडी मात्रै सञ्चालन भइरहेका ९ विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी छन् । चार विद्यालयमा १० जनाभन्दा कम र दुई विद्यालयमा २० जनाभन्दा कम बालबालिका अध्ययनरत छन् ।
यस्तै १६ आधारभूत विद्यालयमा कक्षा १ माथि दुईदेखि पाँच जनासम्म मात्रै विद्यार्थी छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार ४७ आधारभूत विद्यालयमा कक्षा १ माथि अध्ययन गर्ने विद्यार्थी सङ्ख्या ६ देखि १० जनासम्म मात्रै छ । ती विद्यालयमा एकदेखि चार जनासम्म शिक्षक कार्यरत छन् । 'धेरै विद्यालयमा एक जना शिक्षकले मात्रै सबै कक्षा धानिरहेका छन्,' उनले भने ।
उनका अनुसार २२ विद्यालयमा ११ देखि १५ जनासम्म विद्यार्थी छन् भने चार विद्यालयमा १६–१६ जना विद्यार्थी अध्ययनरत छन् । एउटा विद्यालयमा १९ जना विद्यार्थी मात्रै छन् ।
गजुरेलका अनुसार यी तथ्यांक शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) मा विद्यालयले आफैं अद्यावधिक गरेको र सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेको विवरणमा आधारित हुन् ।
राम्रो नतिजा, अङ्ग्रेजी माध्यम, आवासीय सुविधा र अनुशासित वातावरण भएका विद्यालयमा विद्यार्थी केन्द्रित भइरहेका छन् भने दुर्गम र कमजोर पूर्वाधार भएका विद्यालय खाली हुँदै गएका छन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार १०८ आधारभूत विद्यालयमा जम्मा ७८८ जना विद्यार्थी अध्ययनरत छन् भने ती विद्यालयहरूमा १३२ जना भन्दा बढी शिक्षकहरू कार्यरत छन् ।
शिक्षामा १४ गुणासम्म सुधार भएको स्थानीय तहको दाबी
रोजगारी, बसाइँसराइ र सहरी केन्द्रतर्फ बढ्दो आकर्षणका कारण रामेछापका ग्रामीण भेगका सामुदायिक विद्यालय विद्यार्थी संकटमा परेका छन् । स्थानीय तहका अनुसार सामुदायिक शिक्षाको गुणस्तर वृद्धि हुँदा पनि गाउँबाट परिवार सहरतर्फ बसाइँ सर्दै जाँदा विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको हो ।
कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि कक्षा मिलान गरेर पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । शिक्षा मन्त्रालयले ५० भन्दा कम विद्यार्थी भएका विद्यालय गाभ्ने गरी गृहकार्य गरिरहेको चर्चा चलिरहेका बेला ग्रामीण क्षेत्रका विद्यालयको भविष्यप्रति थप चिन्ता बढेको छ । यस्तो निर्णय कार्यान्वयन भए रामेछापका दुर्गम बस्तीका अधिकांश विद्यालय बन्द हुने जोखिम रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
विभिन्न चुनौतीसँग भिड्दै सामुदायिक शिक्षामा गाउँपालिकाले उल्लेख्य सुधार गरेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । एसईईमा १४ गुणा परिवर्तन आएको उनले बताए । आफू निर्वाचित हुँदा एसईईमा उत्तीर्ण दर ४.७५ प्रतिशत मात्रै रहेकोमा २०८२ सालको नतिजासम्म आइपुग्दा ६५.५७ प्रतिशत पुगेको उनले बताए । '५ प्रतिशत विद्यार्थी पनि उत्तीर्ण हुन नसक्ने अवस्था थियो । अहिले झन्डै ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने अवस्थामा पुगेका छन्,' उनले भने, 'यो शिक्षा सुधारका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिफल हो ।' गाउँपालिकामा रहेका ४ वटा विद्यालय शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको उनको भनाइ छ ।
गाउँपालिकाले शिक्षक व्यवस्थापन, नियमित अनुगमन, अतिरिक्त कक्षा, विद्यार्थी लक्षित प्रोत्साहन कार्यक्रम र अभिभावकसँगको समन्वयलाई प्राथमिकता दिएपछि नतिजामा सुधार आएको अध्यक्ष श्रेष्ठको दाबी छ । तर विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जानुले ग्रामीण शिक्षाको दीर्घकालीन भविष्यप्रति भने प्रश्न उब्जाएको उनले बताए ।
