भूकम्पको १० वर्षपछि चिनियाँ सहयोगमा ठडिए दुई विद्यालय भवन

लिस्तीका सामाजिक अगुवा दोर्जे लामाका अनुसार नयाँ भवनले हिमाली भेगका बालबालिकाको भविष्य बदल्ने अपेक्षा गरिएको छ ।

जेष्ठ १३, २०८३

अनिश तिवारी

Two school buildings constructed with Chinese assistance 10 years after the earthquake

What you should know

सिन्धुपाल्चोक — छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको जिल्लाको विकट भेग भोटेकोशी गाउँपालिका–१ लिस्तीकोट पुग्न अझै पनि सहज छैन । पहिरोले चिरिएको सडक, साँघुरा घुम्ती, बर्खामा बग्ने खोल्सा र हिमाली मौसम पार गर्दै पुग्नुपर्छ ।

२०७२ सालको विनाशकारी भूकम्पले ढालेका दुई विद्यालय अहिले नयाँ स्वरूपमा उभिएका छन् । भोटेकोशी गाउँपालिका–१ को उग्रचण्डी माध्यमिक विद्यालय र बाह्रबिसे नगरपालिका–२ बुदेपास्थित सुनकोशी माध्यमिक विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा बनेका यी विद्यालय भवन अब सीमावर्ती क्षेत्रका करिब आठ सय बालबालिकाका लागि सुरक्षित र सुविधासम्पन्न अध्ययनस्थल बनेका छन् । 

चीनको एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसन अफ द मिनिस्ट्री अफ कमर्सले करिब ६.९५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै एक अर्ब रुपैयाँ बराबरको लगानीमा विद्यालय भवन निर्माण गरेको हो । निर्माणको जिम्मा चाइना रेलवे फर्स्ट ग्रुप कम्पनी लिमिटेडले लिएको थियो । सन् २०२२ डिसेम्बर ८ बाट सुरु गरिएको निर्माण सन् २०२५ डिसेम्बर ३१ मा सम्पन्न भएको चिनियाँ प्रोजेक्ट म्यानेजर लिउ चाओले बताए । 

‘बाह्रबिसेदेखि लिस्तीसम्मको सडक निकै कठिन छ । मौसम पनि प्रतिकूल भइरह्यो । तर, यी सबै चुनौतीका बीच समयमै निर्माण सम्पन्न गर्न सफल भयौं,’ उनले भने, ‘अब आगामी महिनामा नेपाल सरकारको शिक्षा मन्त्रालयलाई भवन हस्तान्तरण गर्छौं ।’

लिस्ती हिमाली क्षेत्र भएकाले यहाँका धेरै बालबालिका टाढाबाट विद्यालय आउँछन् । त्यसैले उग्रचण्डी माविमा छात्रावाससमेत निर्माण गरिएको छ । २ हजार १२६ वर्गमिटर क्षेत्रफलमा फैलिएको विद्यालयमा १२ वटा फराकिला कक्षाकोठा, छात्रावास, क्यान्टिन, खेल मैदान तथा कम्पाउन्ड वाल निर्माण गरिएको छ । यहाँ हाल ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

यसैगरी, बुदेपाको सुनकोशी माध्यमिक विद्यालयमा १३ वटा कक्षाकोठासहित छात्रावास, क्यान्टिन, खेल मैदान र घेराबार तयार गरिएको छ । २ हजार ४ सय ५५ वर्गमिटर क्षेत्रमा फैलिएको विद्यालयमा अहिले करिब चार सय विद्यार्थी अध्ययन गर्छन् । कक्षाकोठा बालबालिकामैत्री र आधुनिक ढाँचाका बनाइएका छन् । भूकम्पप्रतिरोधी संरचनासहित निर्माण गरिएका भवनमा पर्याप्त प्रकाश र खुला ठाउँको व्यवस्था गरिएको छ ।

लिस्तीका सामाजिक अगुवा दोर्जे लामाका अनुसार नयाँ भवनले हिमाली भेगका बालबालिकाको भविष्य बदल्ने अपेक्षा गरिएको छ । ‘पहिले पढ्न निकै दुःख थियो । पुराना भवन जोखिमपूर्ण थिए । अब छात्रावाससहितको सुविधा भएपछि टाढाका बालबालिकाले पनि सहज रूपमा पढ्न पाउनेछन्,’ उनले भने । 

विद्यालय भवन निर्माणमा २६ जना चिनियाँ प्राविधिक तीन वर्षदेखि लिस्ती र बाह्रबिसे क्षेत्रमा बस्दै आएका थिए । परियोजनामा २ सय १० नेपाली कामदार पनि संलग्न थिए । निर्माण सामग्रीमध्ये करिब ५० प्रतिशत चीनबाट ल्याइएको थियो भने सिमेन्ट, बालुवा, काठ तथा खाद्यान्न नेपालमै खरिद गरिएको परियोजनाले जनाएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully