उत्पादन लागत वृद्धि, लगानी असुरक्षा, आर्थिक मन्दी तथा उद्योग सञ्चालनमा देखिएका विभिन्न व्यावहारिक कठिनाइका कारण गाउँका साना उद्योग बन्द हुने क्रम बढ्दो ।
What you should know
रामेछाप — उमाकुण्ड गाउँपालिका–४ प्रीतिका गुञ्जबहादुर सार्की र मीना सार्की दम्पतीले गाउँमै छाला जुत्ता उद्योग सञ्चालन गर्दै आएका छन् । उनीहरूको अनुग्रह छाला जुत्ता उद्योगमा पहिलेजस्तो चहलपहल भने छैन । 'अहिलेसम्म जसोतसो टिकेकै छ,' गुञ्जबहादुर भन्छन्, 'तर अब गाह्रो होला जस्तो छ । गाउँमा मान्छे नै छैनन् ।'
२०६६ सालमा सुरु गरिएको यो उद्योगले वर्षौँसम्म उनीहरूको परिवार धानेको छ । ३० लाख रुपैयाँभन्दा बढी लगानी रहेको उद्योगबाट एक समय खर्च कटाएर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । अहिले त्यो घटेर करिब ३० हजार रुपैयाँमा सीमित भएको छ ।
'अहिले त परिवार चलाउन पनि समस्या हुन थाल्यो,' उनले भने । पहिले उद्योगमा कामदार राखेर उत्पादन गरिन्थ्यो । गाउँ–गाउँमा जुत्ताको माग पनि राम्रो थियो । तर पछिल्ला वर्षमा गाउँबाट सहरतिर बसाइँ सर्ने क्रम बढेपछि स्थानीय बजार खुम्चिँदै गएको उनीहरूको अनुभव छ । बजार घटेपछि यस वर्षदेखि उद्योग श्रीमान् श्रीमतीले मात्रै धानिरहेका छन् ।
काठमाडौँमा काम सिक्दा साथीहरूले सहरमै उद्योग खोल्न सुझाव दिएका थिए । तर गुञ्जबहादुरले पुर्खादेखिको सीपलाई आधुनिक रूप दिँदै रामेछापको गाउँमै उद्योग सुरु गर्ने निर्णय गरे । 'सुरुमा राम्रो भयो,' उनी सम्झिन्छन्, 'तर अहिले गाउँ रित्तिँदै गयो, सामानले बजार पाएन ।'
उद्योगमा अहिले १० वटा मेसिन छन् । डिजाइन तयार पार्ने कामदेखि छाला काट्ने, सिलाइ गर्ने र अन्तिम फिनिसिङसम्मका सबै काम दम्पती मिलेरै गर्छन् । फुर्सदको समयमा छोरा–छोरीले पनि सघाउने गरेका छन् । सानो उद्योग भए पनि यहाँ छालाका पार्टी तथा स्कुल जुत्ता, स्पोर्ट्स सुज, महिलाका विभिन्न डिजाइनका जुत्ता–चप्पल र ब्याग उत्पादन हुँदै आएका छन् । उत्पादन उमाकुण्ड मात्र होइन, ओखलढुङ्गाको खिजीफलाटे र रामेछापकै गोकुलगंगा गाउँपालिकासम्म पुग्ने गरेको छ । अर्डर आए ठूलो परिमाणमा उत्पादन गर्न सक्ने क्षमता उद्योगसँग छ । तर बजारको सुनिश्चितता नहुँदा उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन । 'उत्पादन गर्न सक्छौँ, सीप र मेसिन दुवै छन्,' मीना भन्छिन्, 'तर बजार नहुँदा काम सीमित गर्नुपरेको छ ।'
गाउँमै बसेर आत्मनिर्भर बन्ने सपना बोकेका गुञ्जबहादुर–मिना दम्पतीको जस्तै गाउँ गाउँमा सञ्चालनमा रहेका उद्योगहरू व्यापार हुन छाडेपछि समस्यामा छन् । यस्ता धेरै उद्योग अब गाउँमै टिकाउने कि बजार खोज्दै सहर सर्ने भन्ने दोधारमा छन् भने धेरै उद्योग बन्द नै भइसकेका छन् । पालिकाभित्र सञ्चालनमा रहेका उद्योगहरूको विकासका लागि स्थानीय सरकारले सहयोग गरिरहेको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख रणबहादुर कार्कीले बताए । 'गाउँपालिकाका सातवटै वडामा घरेलु तथा साना उद्योग सञ्चालनको सम्भावना छ,' कार्कीले भने, 'स्थानीय स्रोत, सीप र बजारको आवश्यकता हेरेर उद्यमी उत्पादन गर्ने योजना अघि बढाएका छौँ ।' उनका अनुसार गाउँपालिकाले नयाँ उद्यमी उत्पादनसँगै पुराना उद्यमीको क्षमता अभिवृद्धिलाई समेत जोड दिएको छ । गत आर्थिक वर्षमा तालिम लिएका २० भन्दा बढी उद्यमीलाई यस वर्ष पुनः उन्नत तालिम प्रदान गरिएको उनले बताए ।
६ वर्षमा वर्षमा २७१ उद्योग खारेज
रामेछापमा पछिल्ला वर्षमा उद्योग सञ्चालनभन्दा बन्द हुने क्रम बढ्दो देखिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ को चैत महिनासम्मको झन्डै ६ वर्षमा २ सय ७१ उद्योग खारेज भएका छन् ।
कार्यालय प्रमुख खेमराज घिमिरेका अनुसार आर्थिक वर्ष ०८१/८२ मा मात्रै सबैभन्दा बढी ७८ उद्योग खारेज भएका छन् । 'उद्योग दर्ता र नवीकरण भइरहे पनि खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि बढ्दो अवस्थामा छ,' उनले भने । चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनासम्म ६९ उद्योग खारेज भएको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २४ उद्योग खारेज भएका छन् । त्यसपछि २०७८/७९ मा २६, २०७९/८० मा ४५ र ०८०/८१ मा २९ उद्योग खारेज भए । तर ०८१/८२ मा भने उद्योग खारेजीको सङ्ख्या एक्कासि बढेर ७८ पुगेको छ ।
उद्योग दर्ताको अवस्था पनि पछिल्ला वर्षमा घट्दो देखिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ को चैत महिनासम्म
जिल्लामा ८ सय २४ उद्योग दर्ता भएका छन् भने २ हजार ५ सय ६६ उद्योग नवीकरण भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी ३ सय ९ उद्योग दर्ता भएका थिए । त्यसयता भने दर्ता सङ्ख्या निरन्तर घटेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
बजार अभाव, उत्पादन लागत वृद्धि, लगानी असुरक्षा, आर्थिक मन्दी तथा उद्योग सञ्चालनमा देखिएका विभिन्न व्यावहारिक कठिनाइका कारण उद्योग बन्द हुने क्रम बढेको हुन सक्ने उद्योग तथा वाणिज्य कार्यालयको अनुमान छ ।
