पर्यटन विषयमा स्नातक धानुकुमार तीन पटकको प्रयासपछि सगरमाथा आरोहणमा सफल भएका हुन् । गत वर्ष उनी तेस्रो शिविरसम्म पुगेर प्रतिकूल अवस्थाका कारण फर्किएका थिए ।
रामेछाप — मन्थली नगरपालिका–१ का २५ वर्षीय धानुकुमार श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । बेलायती आरोहण दलसँगै उनी चैत २६ गते आरोहण यात्रामा निस्किएका थिए । श्रेष्ठले गत बिहीबार दिउँसो १ बजे सगरमाथाको चुचुरोमा पाइला राखेका हुन् ।
श्रेष्ठका पिता टंककुमार श्रेष्ठका अनुसार धानुकुमार शुक्रबार राति दोस्रो शिविरमा झरेपछि परिवारसँग सम्पर्कमा आएका थिए । उनले सगरमाथा शिखर पुगेको तस्बिर समेत परिवारलाई पठाएका थिए । '२७४ जना आरोही एकै दिन सगरमाथा पुगेका बेला मेरो छोरो पनि पुगेको खबर आयो,' टंककुमारले भने, 'यो हाम्रो परिवारको मात्रै होइन, सिङ्गो रामेछापकै गर्वको विषय हो ।'
उनका अनुसार धानुकुमार सोमबार हेलिकोप्टरमार्फत लुक्ला आइपुगेका छन् । 'अब घर फर्किएपछि पत्रकार सम्मेलन गरेर उसको अनुभव सबैलाई सुनाउने इच्छा छ,' उनले भने ।
पर्यटन विषयमा स्नातक धानुकुमार तीन पटकको प्रयासपछि सगरमाथा आरोहणमा सफल भएका हुन् । गत वर्ष उनी तेस्रो शिविरसम्म पुगेर प्रतिकूल अवस्थाका कारण फर्किएका थिए । त्यसअघि पनि उनले आरोहण प्रयास गरेका थिए । तर, सफलता हात लाग्न सकेको थिएन । सानैदेखि हिमाल र पर्यटनप्रति आकर्षित धानुकुमारले लुबुचे हिमाल तीन पटक आरोहण गरिसकेका छन् । सन् २०२४ यता उनले प्रत्येक वर्ष लुबुचेको आरोहण गर्दै आएका थिए । गत वर्ष उनले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस समेत सफलतापूर्वक आरोहण गरेका थिए ।
मन्थली नगरपालिका–१ बाट सगरमाथा शिखरमा पुग्ने धानुकुमार पहिलो व्यक्ति भएको भन्दै स्थानीय तह र जिल्लामा उनको चर्चा भइरहेको छ । आमा मिङ्मा शेर्पा श्रेष्ठले छोराको सफलताले आफूलाई गर्वले भरिएको बताइन् । 'उसको पढाइ पनि पर्यटन क्षेत्रमै थियो । २–३ वर्षदेखि लगातार सगरमाथा चढ्ने प्रयास गरिरहेको थियो,' उनले भनिन्, 'पटक–पटक असफल भयो तर कहिल्यै हिम्मत हारेन । आज सफल भयो । योभन्दा ठुलो खुसी आमाबुबाका लागि अरू के हुन सक्छ र ?'
