बुम्देल र पीपलडाँडाका स्थानीयको लामो समयदेखिको मागपछि अहिले ठिनकेपुमा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सुरक्षित र सहज बनेको छ ।
What you should know
रामेछाप — यहाँको उमाकुण्ड गाउँपालिका–७ ठिनकेपुमा २ सय १६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि बुम्देल र पीपलडाँडा क्षेत्रका स्थानीयबासीलाई आवतजावतमा सहज भएको हो ।
यसअघि सारिडाँड्या पहिरोका कारण वर्षायाममा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । स्थानीय विमला श्रेष्ठका अनुसार सारिडाँड्या पहिरो रामेछाप जिल्लाकै घ्याप्चे पहिरोपछिको दोस्रो ठूलो मानिन्छ । यही पहिरोका कारण बुम्देल, पीपलडाँडा लगायतका गाउँका नागरिकलाई वडा कार्यालय, विद्यालय तथा अन्य सेवा केन्द्रसम्म पुग्न निकै कठिन हुने गरेको थियो ।
स्थानीयको लामो समयदेखिको मागपछि झोलुङ्गे पुल निर्माण भएपछि अहिले आवतजावत सुरक्षित र सहज बनेको श्रेष्ठ बताउँछन् । 'सारिडाँड्या पहिरोका कारण विद्यार्थीदेखि सर्वसाधारणसम्मले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अवस्था थियो । पुल बनेपछि अहिले धेरै राहत मिलेको छ,' उनले भने । उमाकुण्ड गाउँपालिका–७ का वडाध्यक्ष रुद्रमणि नेवारका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको २ करोड ४ लाख रुपैयाँभन्दा बढी बजेटमा साबिक वडा नं ३ ठिनकेपुमा उक्त पुल निर्माण गरिएको हो । पुलले वडा कार्यालय नजिकै बुम्देल डाँडालाई जोड्नुका साथै पीपलडाँडा, फास्तु हुँदै लिखुतामाकोशी क्षेत्रसम्म पुग्नसमेत सहज बनाएको उनले बताए ।
उनका अनुसार पुल निर्माणसँगै पहिरोको त्रास कम हुनुका साथै कास्थेम माविमा अध्ययनका लागि आउने–जाने विद्यार्थी तथा वडा कार्यालयको सेवा लिन आउने स्थानीयलाई ठूलो सुविधा पुगेको छ । पुलको केही काम अझै बाँकी रहेकाले निर्माण कम्पनीलाई छिट्टै काम सम्पन्न गर्न ताकेता गरिएको वडाध्यक्ष नेवारले जानकारी दिए ।
