तीन वर्षयताकै धेरै पर्यटकले यस वर्षको बैशाखमा घुमे चितवन निकुञ्ज

हिउँदपछि निकुञ्ज घुम्नेहरु चैत्र महिनामा धेरै हुने गरेको निकुञ्जको विवरणमा देखिन्छ । गएको कात्तिकमा ३२ हजार २५२ जनाले निकुञ्ज घुमेका थिए ।

जेष्ठ ६, २०८३

रमेशकुमार पौडेल

The most tourists visited Chitwan National Park in Baisakh this year, the most in three years

What you should know

चितवन — चैतपछि चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेहरुको संख्या घट्न सुरु हुन्छ । तर यो वर्ष चैत्रमा भन्दा बैशाखमा धेरैजनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गएको बैशाखमा स्वदेशी, विदेशी र सार्क देशका गरेर कूल २९ हजार ७४० जनाले निकुञ्ज घुमेको जानकारी दिएका छन् । बैशाखमा निकुञ्ज घुम्नेहरुको यो संख्या तीन वर्षयता कै धेरै हो । 

सामान्यतया कात्तिक महिनामा चितवन निकुञ्ज घुम्नेहरुको संख्या अत्यधिक हुन्छ । हिउँदपछि निकुञ्ज घुम्नेहरु चैत्र महिनामा धेरै हुने गरेको निकुञ्जको विवरणमा देखिन्छ । गएको कात्तिकमा ३२ हजार २५२ जनाले निकुञ्ज घुमेका थिए । त्यसपछि संख्या घट्दै गएर फागुनमा २७ हजार ४०५ पुग्यो । चैत्रमा झनै घटेर २५ हजार ९८५ पुग्यो । तर बैशाखमा आएर फेरि बढेको छ ।

आर्थिक वर्ष ०८०/८१ मा बैशाखमा निकुञ्ज घुम्ने २६ हजार ६३० थिए । त्यो वर्ष चैत्रमा ३४ हजार ४१९ जनाले निकुञ्ज घुमेका थिए । त्यसैगरी आर्थिक वर्ष ०८१/८२ मा बैशाखमा २२ हजार ७७७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । त्यसभन्दा अघिल्लो महिना चैत्रमा निकुञ्ज प्रवेश गर्नेको संख्या २५ हजार ४२२ थियो । यो आर्थिक वर्षमा चैत्रमाभन्दा बढी बैशाखमा पर्यटक आए ।

धेरै घुम्नेमा स्वदेशी छन् । चैत्रमा भन्दा बैशाखमा निकुञ्ज घुम्ने सार्क देशका थोरै घटेका छन् । विदेशी थोरै बढेका छन् । विदेशी पर्यटक चैत्रमा नौ हजार ७१७ र बैशाखमा नौ हजार ८८१ आए । त्यसैगरी सार्क देशका चैत्रमा दुई हजार ३४४ र बैशाखमा योभन्दा पनि घटेर एक हजार ८१३ आए । चैत्रमा १३ हजार ९२४ नेपालीले निकुञ्ज घुमेका थिए । बैशाखमा यो संख्या १८ हजार ४६ पुग्यो ।

नेपालीले कात्तिकपछि सबैभन्दा धेरै बैशाखमा नै निकुञ्ज घुमेका छन् । कात्तिकमा निकुञ्ज घुम्ने नेपाली १९ हजार १०९ रहेको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसपछि घट्दै गएर चैत्रमा झनै खुम्चिएको थियो । सरकारले हाल शनिबार र आइतबार दुई दिन कार्यालय बिदा दिने निर्णय गरेको छ । इन्धन प्रयोग घटाउन सुरु भएको बिदाले घुमघाममा सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायीको अनुभव छ ।

सौराहाका पर्यटन तथा होटल व्यवसायी जितु तमाङ दुई दिने बिदाको प्रभाव राम्रो परेको बताउँछन् । ‘पहिला पहिला शनिबार मात्र बिदा हुँदा शुक्रबार अबेला आउने शनिबार घुमेर फर्कने चलन थियो । हामीहरु आज शुक्रबार धेरै पाहुना आउँछन् भन्न्थौं । यो पटक दुई दिने बिदाले शुक्रबार हैन शनिबार मान्छे आउँछन्’ तमाङले भने । शनिबार चाँडै आउने आइतबार अबेला फर्कने गरेको उनले बताए । 

बैशाखको सुरुमा नयाँ वर्षको प्रभाव पर्ने उनले बताए । यो पटक दिनहुँ जस्तो पानी परी रहेका कारण चर्को गर्मी पनि छैन । ‘नेपालीहरु खास गरेर असोज, कात्तिक, मंसिर र पुस महिनामा धेरै आउँछन् । माघ फागुन चैत्रमा विदेशी धेरै हुन्छन् । बैशाखदेखि भदौसम्म पर्यटक अरु बेलाको भन्दा कमै हुने हुन् विगतमा’ नेचर गाइडसमेत रहेका तमाङले भने । यो पटक जेठमा पनि नेपालीको संख्या राम्रै छ,’ भन्छन् उनी । 

चितवन निकुञ्ज देशको पहिलो राष्ट्रिय निकुञ्ज हो । वन्यजन्तु अवलोकन गर्ने पर्यटकका लागि चितवन देशको मुख्य गन्तव्य हो । निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, जस्ता अनेकौं जीवजनावरहरु छन् । निकुञ्ज आडका आदिवासी थारु, बोटे, कुमाल, दरैहरुको संस्कृतिले पनि पर्यटकलाई आर्षित गरेको छ । हात्ती सफारी, जंगलमा जीप सफारी र वाक, डुंगा सफारी यहाँका मुख्य पर्यटकीय गतिविधि हुन् । निकुञ्ज घुम्न देश विदेशबाट वर्षमा तीन लाखको हाराहारीमा पर्यटक आउने गरेको निकुञ्जको तथ्याङ्क छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully