थाहामा आलु किलोको १० रुपैयाँ !

मकवानपुरको थाहा नगरपालिकामा आलुको मूल्य प्रतिकिलो १० देखि १२ रुपैयाँमा झर्दा कृषकले उत्पादन लागतसमेत उठाउन नसकेको गुनासो गरिरहेका छन् ।

जेष्ठ २, २०८३

प्रताप विष्ट

Potatoes in Thaha are 10 rupees per kilo!

What you should know

हेटौंडा — सस्तोमै आलु बेच्नु परेपछि मकवानपुरको थाहा नगरपालिकाका कृषक लगानी नै नउठ्ने चिन्तामा छन् । थाहा नगरपालिकाको दामन, पालुङ, बज्रवराही, चित्लाङका कृषक यतिबेला धमाधम आलु खन्न व्यस्त छन् ।

उत्पादित आलुको मूल्य अत्यन्त न्यून भएको उनीहरुको गुनासो छ । व्यापारीले खेतमै गएर कृषकबाट अहिले सेतो आलु प्रतिकेजी १० र रातो प्रतिकेजी १२ रुपैयाँमा खरिद गरिरहेका छन् ।

गत वर्ष खेतबाटै सेतो प्रतिकेजी २० र रातो २५ रुपैयाँ बिक्री गरेका थिए । ‘गत वर्षको आलुको उत्पादन पनि राम्रो थियो, भाउ पनि सुहाउँदो थियो, अहिले उत्पादन पनि घटेको छ, भाउ पनि छैन,’ थाहा–३ का कृषक मुरारी खत्रीले भने,‘बोट मरिसक्यो आलु खन्न परिहाल्यो, सुरक्षित भण्डारण गर्ने ठाँउ छैन, सस्तो भए पनि बिक्री गर्न परि गो ।’ वैशाखमा नियमितजसो पानी पर्दा डढुवा रोगले छिटै बोट मरेकाले आलुका दाना बढ्न नपाएको थाहा नगरपालिका कृषि शाखाकी प्रमुख बालकुमारी भट्टराईले बताइन् । यसपाली दाना सानो आकारका फलेको उनले बताइन् । 

आलु खरिद गर्न व्यापारीहरु तराजु लिएर खेतमै पुगेका छन् । आलु भण्डारण गर्ने व्यवस्था नहुँदा खेतबाटै सस्तो मूल्यमै बिक्री गर्न बाध्य रहेको नेपाल तरकारी व्यवसायी संघ उत्तरी क्षेत्र मकवानपुरका अध्यक्ष राजेन्द्र विडारी बताउँछन् । ‘१० रुपैयाँ किलोमा बेच्दा त लागत मूल्य पनि पाउन सकेका छैनन्,’ उनले भने,'यो वर्ष फलेको पनि कम छ । त्यसमै भाउ पाेहोर भन्दा आधा कम भयो ।' 

बजारमा भारतीय आलु पनि सस्तो भएर आएकाले यहाँको उत्पादनले भाउ नपाएको अध्यक्ष विडारीले बताए । बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रका रुपमा चिनिएको थाहामा आलु बढ्ने बेलामा बोटमै रोग लागेकाले उत्पादनसँगै दानाको आकार पनि घटेको थाहा–३ का कृषक सुदर्शन विष्टले बताए । 

१२ वडामा विभाजित थाहा नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत तरकारी खेती हो । सबैभन्दा बढी आम्दानीको हिस्सा ओगट्ने आलुको उत्पादन र मूल्यमा  गिरावट आउँदा स्थानीयको आम्दानी नै प्रभावित हुने गर्छ । थाहाको ६ हजार ३ सय रोपनी जग्गामा आलु खेती गरिन्छ । गत वर्ष झण्डै ७ हजार टन आलु उत्पादन भएको थियो । वैशाखमा दैनिकजसो वर्षा भएकाले आलुबाहेक अन्य तरकारी उत्पादन र बिक्रीमा पनि समस्या भएको कृषि विकास शाखा प्रमुख भट्टराईले बताइन् । 

यहाँ उत्पादन हुने आलु काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, भरतपुरलगायत विभिन्न सहरमा बिक्री हुने गर्छ । थाहाले आलुबाटमात्र करिब ५७ देखि ६० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । यहाँबाट निर्यात हुने आलुलगायत अन्य तरकारीमा ५२ वर्षदेखि स्थानीय कर लगाइदै आएको छ ।

२०३१ सालदेखिरुपचन्द्र विष्ट ‘थाहा’ले दामन र पालुङमा आलुमा कर लगाउन सुरु गरेका थिए । उक्त करबाट संकलन भएको रकम यस क्षेत्रको शैक्षिक विकास एवं भौतिक पूर्वाधारका लागि खर्च गरिँदै आएको थियो । उक्त कर अहिले नगरपालिकाले तोक्ने गरेको छ । यस क्षेत्रमा विसं २०१८ सालदेखि व्यावसायिक रुपमै आलु खेती सुरु गरिएको स्थानीयको भनाई छ । 

स्थानीयले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव, कुखुरे ज्योती र साजिटा जातका आलुको बीउ लगाउने गरेका छन् । माघ पहिलो सातादेखि रोप्न सुरु गरेको आलु जेठमा गरिन्छ । तर, यसपाली वर्षाले डढुवा फैलिँदा चाँडै बिक्रि गरेका हुन् ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully