हिमाली पालिका उमाकुण्ड पूर्ण खोपयुक्त घोषित, सबै बालबालिका खोप सेवाको पहुँचमा

पालिकाका ७ वडामा जन्मेदेखि ५९ महिनासम्मका ६२३ बालबालिकाले सबै आवश्यक खोप पाएपछि उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको हो।

जेष्ठ २, २०८३

नवराज श्रेष्ठ

Himalayan Municipality Umakunda declared fully vaccinated, all children have access to vaccination services

What you should know

रामेछाप — रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ।

शनिबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे ।  

गाउँपालिकाले २०८२ चैत १२ भित्र सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य लिएको थियो। सोही लक्ष्यअनुसार ७ वडामा रहेका १५५ जना जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै नियमित खोप प्राप्त गरेका छन्। त्यस्तै १६ देखि ५९ महिनासम्मका ४६८ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेको सुनिश्चित भएपछि गत चैत १८ गते नै सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अविजित सुनुवारका अनुसार दुर्गम बस्तीका घरघर पुगेर बालबालिकालाई खोपको पहुँचमा ल्याउने काम निरन्तरको प्रयासपछि मात्र सफल भएको हो। उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अभिभावकको भूमिका निर्णायक भएको उल्लेख गर्दै अब यो उपलब्धिलाई निरन्तर कायम राख्नु मुख्य चुनौती भएको बताए।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले यो उपलब्धि समुदायको साझा प्रयासको प्रतिफल भएको बताए। कुनै समय सामान्य स्वास्थ्य सेवासमेत कठिन रहेको उमाकुण्डमा सबै बालबालिका खोप सेवामा समेटिनु ठूलो सफलता भएको उनको भनाइ थियो।

स्वास्थ्य मन्त्री थापा मगरले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले तीनै तहका सरकारबिच प्रभावकारी समन्वय भए मात्रै दुर्गम क्षेत्रका नागरिकले वास्तविक परिवर्तन महशुष गर्न सक्ने बताए।

प्रदेश राजधानीबाट टाढा र भौगोलिक रूपमा विकट मानिने उमाकुण्डको विकासका लागि बागमती प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

साथै अलपत्र परेका योजनाहरूलाई अघि बढाउन सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने पनि उनले बताए। उमाकुण्डको यो उपलब्धिले दुर्गम क्षेत्रमै पनि स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्‍याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको मन्त्री थापा मगरको भनाइ छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully