भरतपुरमा भूमिहीन, सुकुमवासीहरूको विरोध प्रदर्शन

सरकारले व्यवस्थित बसोबासको व्यवस्था नगरी डोजर चलाएको भन्दै चितवनमा भूमिहीन सुकुमवासीले जोडदार विरोध प्रदर्शन गर्दै न्यायको माग गरेका छन्।

वैशाख ३०, २०८३

रमेशकुमार पौडेल

Landless and squatter residents protest in Bharatpur

चितवन — व्यवस्थित बसोबासको व्यवस्था गर्नुको सट्टा भूमिहीन सुकुमवासीहरूको बसोबास क्षेत्रमा सरकारले डोजर चलाएर उठीबास लगाएको भन्दै भरतपुरमा विरोध प्रदर्शन सम्पन्न भएको छ । संयुक्त सुकुमवासी संघर्ष समिति चितवनले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बुधबार मध्यान्ह भरतपुर वीरेन्द्र क्याम्पस गेटबाट चितवन जिल्ला प्रशासन कार्यालयसम्म र्‍याली निस्केको थियो ।

र्‍यालीका सहभागीहरूले ‘खोइ मानवता, डोजरले पुर्‍यो’, ‘डोजर आतंक बन्द गर’, ‘सरकार निकास खोज, उठीबास होइन’ जस्ता नारा लगाएका थिए । उनीहरूले महँगी नियन्त्रण गर्न पनि माग गरेका थिए । चितवनमा सरकारले व्यवस्थापन गर्नुपर्ने लगभग ५० हजार घरपरिवार भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबास रहेको संघर्ष समितिका संयोजक सती सालले बताए ।

Landless and squatter residents protest in Bharatpur

‘हाम्रो मुख्य माग भनेको भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई राज्यले शान्तिपूर्वक व्यवस्थापन गर भन्ने हो । तर यस्तो बस्तीमा डोजर पसेर आतंक मच्चाउन सुरु गरेको छ । अदालतको आदेश पालना भएको छैन । सर्वोच्च अदालतको आदेश विपरीत कोहलपुरमा डोजर चलेको छ,’ उनले भने । सरकार दमनमा उत्रे सशक्त प्रतिकार हुन्छ भनेर खबरदारी सुरु गरेको उनले बताए ।

Landless and squatter residents protest in Bharatpur

प्रदर्शनमा सहभागी हुन आएका नरबहादुर गौतम रिक्सा मजदुरी गर्न सिन्धुपाल्चोकबाट चितवन आएका थिए । ‘५५ सालमा चितवन आएँ । रिक्सा चलाएर गुजारा गरेँ । अहिले त मजदुरी पनि गर्न सक्दिनँ । भरतपुर गणेशथानमा बस्छु । चार धुर जग्गा छ । त्यसैको पुर्जा पाए हुने,’ ७३ वर्षका नरबहादुरले भने । पाँच जना बस्ने यो जमिनबाट सरकारले उठाए कहाँ जाने होला भन्ने चिन्तामा छन् उनी ।

भरतपुर पटिहानी राप्ती खोला किनारको सिमलगैरीका बासिन्दा पनि प्रदर्शनमा आएका थिए । सो ठाउँमा लगभग ३० घरपरिवार वर्षौँदेखि बस्दै आएका छन् । ‘नापी भयो, सेतो पुर्जा पाएका छौँ । अब लालपुर्जा पाउनुपर्ने हो । हामीले जे–जति कमायौँ, त्यसले त्यही घर बनायौँ । बिजुली, पानी सबै छ । अब सरकारले नउठाएर वैधानिकता दिए हुने, तर सरकारको भर लागेन,’ प्रदर्शनमा आएका शंकर महतोले भने ।

Landless and squatter residents protest in Bharatpur

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully