निरन्तर नतिजा सुधार गर्दै आएको नारायणी मावि यस वर्ष एसईईमा ३७ जना विद्यार्थीलाई ४ जीपीए दिलाउन सफल भएको छ ।
What you should know
चितवन — सामुदायिक विद्यालय भरतपुरको नारायणी नमुना माविका ३७ जनाले वर्षको एसईईमा ४ जीपीए ल्याएका छन्। चितवनको शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाभर कुल ७३ जनाको ४ जीपीए आएको छ ।
जसमध्ये आधाभन्दा धेरै एउटै विद्यालय नारायणी माविका छात्रछात्राहरु रहेका छन् । नारायणी माविबाट ३८० विद्यार्थी एसईईमा सामेल थिए । ‘जसमध्ये १९ जना छात्र र १८ जना छात्राले चार जीपीए ल्याएका छन्,’ विद्यालयका प्रधानअध्यापक (प्रअ) रामशरण दुवाडीले भने ।
एक जना विद्यार्थी मात्रै अनुत्तीर्ण भएको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार एसईईमा चितवनमा साधरण धारतर्फ १० हजार ४१३ विद्यार्थी सामेल थिए । जसमध्ये ६ हजार ८७१ जनाले स्तरीकृत अंक प्राप्त गर्न सफल अर्थात उत्तीर्ण भएको कार्यालयले जनाएको छ ।
नारायणी माविमा अघिल्लो वर्ष ७ जनाले चार जीपीए प्राप्त गरेका थिए । विद्यालयले यो पटक अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएको प्रअ दुवाडीले बताए । नारायणी मावि ६० वर्ष नाघेको विद्यालय हो । २०२० जेठ ६ गते रात्री माविका रूपमा पढाइ सुरू भएको थियो । विगतमा यो स्कुल शून्यमा पुगेको थियो ।
विद्यालयका ५४ जना विद्यार्थीले एसएलसी दिएका बेला २०३८ सालको नतिजामा कोही पनि उत्तीर्ण भएनन् । त्यसपछि विद्यालयको भविष्यलाई लिएर चिन्ता सुरू भयो । २०४१ सालदेखि विद्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुन थाल्यो ।
२०४९ सालदेखि विद्यालयलाई व्यवस्थित रूपमा अगाडि बढाउन सामूहिक प्रयत्न सुरू भएको पूर्व प्रअ पूर्णप्रसाद दवाडी बताउँछन् । यो प्रयासको प्रभाव २०५७ सालको एसएलसीमा बल्ल देखियो । त्यो वर्ष विद्यालय एसएलसी नतिजामा सामुदायिक विद्यालयमा चितवनभरीमा पहिलो भयो । त्यसपछि विद्यालय परिवारमा आत्मविश्वास बढ्दै गएको दवाडी बताउँछन् । एसएलसीको नतिजा लगातार ५ वर्षसम्म ९० प्रतिशत पार भएको, विद्यार्थी संख्याका आधारमा शिक्षक अनुपात मिलेको, कक्षाकोठा पर्याप्त भएको, पढाइमा सूचना प्रविधिको प्रयोग भएको जस्ता १५१ वटा सूचक पूरा गरेको आधारमा शिक्षा विभाग अन्तर्गतको तत्कालीन हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालयले नारायणी माविलाई २०७० सालमा नमुना विद्यालय कायम गरेको हो ।
त्यसको एक वर्षअघि विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरू गरेको थियो । ‘सरकारी स्कुलको पढाइ मन नपरेर स्थानीयले छोराछोरी पढाउन निजी बोर्डिङ स्कुल रोज्न थाले । हामीले पनि अंग्रेजी पढाउने योजना बनायौं । अभिभावकलाई सहयोग गर्न आह्वान गर्यौं,’ विद्यालयका पूर्व प्रअ तथा विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष टेकबहादुर थापाले भने ।
पर्याप्त शिक्षक प्रबन्ध गर्नका लागि सरकारी दरबन्दी नभए पनि निजी स्रोतको खर्च बेहोर्न अभिभावकहरू सहयोग गर्न तयार भएपछि यो सम्भव भएको थापा बताउँछन् । विद्यालयमा हाल बालविकासदेखि १२ कक्षासम्म पढाइ हुन्छ । गत वर्ष कुल विद्यार्थी संख्या ३ हजार ३३४ थियो । विद्यालयलाई सरकारले उपलब्ध गराएको आफ्नो नामको लालपुर्जा भएको ६ विघा ४ कट्ठा १४ धुर जग्गा छ । सप्तगण्डकी क्याम्पस सञ्चालन हुने १ बिघा जमिन र सिटिईभीटीले तालिम केन्द्र सञ्चालनका लाागि प्रयोग गरेको २ विघा जमिन पनि नारायणी माविको ६ विघा जमिन मध्यकै हो ।
