महालक्ष्मी खोलाको मितेरी पुल निर्माण अन्तिम चरणमा

१५ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाईको उक्त पुलको निर्माण २०८३ असार ६ सम्म सक्ने सम्झौता छ ।

वैशाख २८, २०८३

प्रताप विष्ट

Construction of Miteri Bridge over Mahalaxmi River in final stages

हेटौंडा — हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडकको कुलेखानी-फाखेल सडकको महालक्ष्मी खोलामा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पुलको माथिल्लो भागमा ढलान र दुबैतर्फको पहुँच मार्ग निर्माण गर्नमात्र बाँकी छ । सबै काम सकेर जेठ अन्तिम सातासम्म पुल संचालनमा ल्याउने तयारी रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुुजन भण्डारीले बताए ।  

२०८१ असोज ११ र १२ को बाढीले क्षति पुर्‍याएको पुल र पहुँच मार्ग निर्माणका लागि बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरले २०८२ असार ६ मा ठेक्का लगाएको थियो । महालक्ष्मी मितेरी पक्की पुल नामाकरण गरिएको उक्त पुलको ९२ प्रतिशत काम भइसकेको छ । १५ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाई रहेको उक्त पुल २०८३ असार ६ सम्म निर्माण सक्ने सम्झौता छ ।

पाण्डव नारायण सरस्वती जेभी हेटौंडाले उक्त पुल निर्माण गर्न ४ करोड २० लाखको लागतमा ठेक्का लिएको पूर्वाधार विकास कार्यालय प्रमुख भण्डारीले बताए । हेटौडा-भीमफेदी-कुलेखानी-फाखेल-हुमाने भन्ज्याङसम्मको सडक फराकिलो  बनाउने र  ग्रेडिङ मिलाउने कार्य सकिए पनि सबै भागमा कालोपत्र भइसकेको छैन  ।

महालक्ष्मी खोला क्षेत्रको सडकलाई  फराकिलो र नाली बनाउनुको साथै खोलाबाट सडकलाई सुरक्षित राख्न पर्खाल बनाउने कार्य गरिएको छ । गत असोजमा आएको बाढीपहिरोले महालक्ष्मीको क्षेत्रमा आधा किलोमिटर सडक नै बगाएएको थियो ।

अहिले त्यहीँ क्षेत्रमा खोलाबाट सडकलाई  सुरक्षित राख्न पर्खाल लगाउने काम गरिएको छ । कुलेखानीको कलंकीदेखि हुमानेसम्मको साढे १२ किलोमिटर खण्ड दुई लेनको बनाउने र कालोपत्र गर्ने कार्यको ठेक्का टिआर इन्फास्ट्रकचर प्रालिले ४० करोड ७२ लाख रुपैयाँमा  लिएको थियो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully