२०५४ सालदेखि बहिरा बालबालिकाका लागि कक्षा सञ्चालन गर्दै आएको विद्यालयले यो वर्ष पहिलोपटक आफ्ना विद्यार्थीलाई एसईईमा सहभागी गराएको छ ।
What you should know
चितवन — राप्ती नगरपालिका–८ बजरहट्टीमा ५७ वर्षअघि २०२६ सालमा खुलेको विद्यालयबाट यो वर्ष पहिलो पटक विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिए । एईईमा पहिलो वर्ष आठ जना विद्यार्थी सामेल भए पनि यो क्षणका लागि ठूलो मिहनेत गरेको प्रधानाध्यापक (प्रअ) मिठूकुमारी पाठक डल्लाकोटी बताउँछिन् ।
परीक्षामा सामेल सबै विद्यार्थी कान नसुन्ने र बोल्न नसक्ने थिए । सहभागीमध्ये एक छात्रा र अरु छात्र हुन् । ‘२०५४ सालबाट हामीले यस्तो अवस्थाका बालबालिकालाई पढाउन सुरु गरेका थियौं । यो पटक एसईईमा सामेल गराइयो,’ प्रअ पाठकले भनिन् ।
सो विद्यालयमा पढ्ने प्रायः सबै विद्यार्थी कान नसुन्ने र बोल्न नसक्ने छन् । उनीहरुले सो विद्यालयमा पढ्न त पाएकै छन् साथै पढेपछि त्यहीँ बस्छन् । यो उनीहरुका लागि आवासीय रुपमा सञ्चालन भएको विद्यालय हो । ‘हुन त यो अरु सामान्य सामुदायिक विद्यालय सरहकै हो । तर हामीले जुन बालबालिकालाई पढाउँदै आयौं उनीहरुका लागि आवास पनि सुरु गर्नु पर्यो,’ प्रअ पाठकले भनिन्।
सुरुमा कक्षा १ र २ पढाइ हुने गरेर विद्यालय खुलेको थियो । २०४० सालमा कक्षा ५ सम्म पढाइ हुन थाल्यो । २०५४ सालमा स्रोत कक्षाका रुपमा कान नसुन्ने र नबोल्ने १० जना बालबालिका राखेर विद्यालयले स्रोत कक्षा सुरु गर्यो । सांकेतिक भाषाबाट पढाएर उनीहरुले सिकेको आधारमा अरु विद्यार्थीसँगै कक्षाहरुमा राखेर पढाउन सुरु गरेको प्रअ पाठकले बताइन् । पछि अन्य विद्यार्थी आउन कम हुँदै गयो । त्यसपछि विद्यालयमा लगभग पूर्णरुपमा सांकेतिक भाषाबाट मात्रै पढाउने क्रम सुरु भयो । ‘हाल अन्य सामान्य अवस्थाका विद्यार्थी पनि शून्य नै भएका हैनन् । गत वर्ष पनि कक्षा ४ मा ३ जना र कक्षा ७ मा १ जना थिए । गत वर्ष कुल विद्यार्थी संख्या ११२ थियो । यो वर्ष भर्ना हुने क्रम जारी छ । १३५ जति पुग्लान्,’ प्रअ पाठकले भनिन् ।
बाराको जितपुर सिमरा–१ रंगशाला टोलकी रञ्जना बराल छोरी रोशनीलाई लिएर सोही विद्यालय पुगेकी थिइन्। रोशनी अघिल्लो वर्षदेखि बजरहट्टीमा पढ्न सुरु गरेकी हुन् । ‘सिमरामा कक्षा ६ सम्म सांकेतिक भाषामा पढाउने स्कुल थियो । अब सात पढाउन कहाँ लैजाने भन्ने भयो । यो विद्यालयका बारेमा सुनेपछि ठूलो आशा लिएर आएकी थिएँ । छोरीले यही पढ्न पाइन्,’ रञ्जनाले भनिन् । उनले चिनेका कलैयाका एक जनाले पनि छोरी यही ल्याएर भर्ना गराएका छन् । ‘पढ्ने र बस्ने सुविधा भएपछि हामीलाई ढुक्क भयो,’ रञ्जनाले भनिन् ।
चितवनको पहाडी भेग इच्छाकामना गाउँपालिका–२ मायाटार घुर्केसका लक्ष्मण गुरुङले पनि दुई छोरी कृष्णमति र निमाकुमारी यहीँ भर्ना गरेका छन् । दुवै छोरीले कान सुन्दैनन्, बोल्न सक्दैनन् । ‘जेठी छोरी कृष्णमतिलाई २ कक्षामा यहाँ ल्याएर भर्ना गरेको थिएँ अहिले नौ कक्षामा पुगिन् । पढाइमा तेज छिन् । अर्की छोरी निमा चार कक्षामा पढ्छिन् । गाउँको स्कुलमा यसरी पढ्न सक्दैन थिए । यो स्कुलले गर्दा मेरा छोरीहरुको भविष्य उज्वल हुने देख्छु,’ लक्ष्मणले भने ।
बजरहट्टीमा चितवनका मात्रै नभएर मकवानपुर, बारा, पर्सा, र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का विद्यार्थी पनि छन् । ‘हामीले तीन प्रदेशका विद्यार्थीलाई राखेका छौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराज थपलियाले भने । विद्यार्थीका लागि छात्राबास चलाए पनि खर्चको व्यवस्थापन धौधौ हुने गरेको उनी बताउँछन्।
सरकारले प्रति विद्यार्थी महिनाको पाँच हजार रुपैयाँ उपलब्ध गराउँछ । वर्षमा १० महिना उपलब्ध हुने सोही रकममा थपथाप गरेर छात्राबास सञ्चालन भएको छ । पितृहरुको सम्झनादेखि जन्मदिन र अन्य उत्सवमा स्थानीयले विद्यालयलाई सहयोग गर्दै आएका छन् । वैशाख २२ मा स्थानीय बबिता डल्लाकोटी कँडेलले स्वर्गीय खेमराज कँडेलको नाममा छात्राबासका विद्यार्थीलाई एक दिनको खाजाका लागि चिनी र पिठो सहयोग गरिन् ।
साथै उनले शिक्षा विकास कोषमा लागि पाँच हजार रुपैयाँ नगद उपलब्ध गराइन् । वैशाख ३ मा स्थानीय डिल्लीराम सापकोटाले ज्वाइँको जन्मदिनमा छोरीले उपलब्ध गराएको १५ हजार रुपैयाँभन्दा बढीको खाद्यान्न विद्यालयलाई सहयोग गरे । ‘खाद्यान्न यसरी पनि जुट्छ । पोशाक सकेसम्म अभिभावकलाई नै किन्न लगाउँछौं । स्टेशनरी पनि हामी नै प्रबन्ध गर्दछौं,’ प्रअ पाठकले भनिन् ।
छात्राबास सञ्चालनका साथै भवन निर्माणमा पनि सहयोग आउने गरेको छ । विद्यालयका विभिन्न सात वटा भवन छन् । पक्की भवन एउटा छ । बेलायत निवासी एक जना सहयोगीले आठ कोठाको पक्की भवन बनाइदिएका थिए । त्यसमाथि तला थपेर बागमती प्रदेश सरकारले दुई कोठाको पक्की भवन बनाएको छ । त्यसैगरी नयाँ होस्टेल भवन बनाउन जापान बस्ने नेपालीको पहलमा रकम आइरहेको प्रअ पाठकले बताइन् । ‘जापानमा कार्यरत यही चितवनकै व्यक्तिहरुको पहलमा एक जापानी नागरिकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएपछि हामीले छात्राबासका लागि ६ कोठाको दुई तले पक्की आरसिसी भवन बनाउने भएका छौं,’ प्रअ पाठकले भनिन् ।
‘बहिरा’ विद्यार्थीलाई किन पढाउने, पाँच कक्षासम्म पढाएपछि थप किन पढाउने जस्ता टीकाटिप्पणी हुँदै आएको अध्यक्ष थपलियाले सुनाए । ‘पहिला पाँचसम्म मात्रै पढाउँथ्यौं । ६ पढाउन हुँदैन, सकिँदैन भन्ने थियो । कक्षा ५ पास भएकी एक छात्राको आमा हाम्रो विद्यालयमा रुदै आएर अब मैले छोरी कहाँ पढाउने, अन्त लगेर पढाउन सक्दिन भन्नुभयो । बिलौना गरेको देखेपछि आँट गरेर ६ सुरु गर्यौं,’ अध्यक्ष थपलियाले भने । त्यसपछि कक्षा ८ हुँदै २०८० बाट मावि सुरु गरेको उनले बताए ।
यहाँ दरबन्दीका ६ सहित १५ जना शिक्षक कर्मचारी छन् । चार जना शिक्षक पूर्ण साकेतिक भाषामा पठनपाठन गराउन सक्ने छन् । अन्यले पनि एक महिनादेखि तीन महिनासम्मको सांकेतिक भाषा तालिम लिएको प्रअ पाठकले बताइन् । होस्टेल इन्चार्ज र चौकीदार उपलब्ध नभए पनि विद्यालयले स्रोत जुटाएर राखेको उनले बताइन् ।
विद्यालयमा पढ्नेहरु अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् । चित्रकलामा रुचि भएका विद्यार्थी धेरै छन् ।गएको वर्ष कक्षा १० मा पढ्ने विपिन थिङले काठमाडौं गएर बागमती प्रदेशको तर्फबाट फुटबल खेलेको प्रअ पाठकले बताइन् । शिक्षक बन्छु, हेयर कटिङ सिकेर आम्दानी गर्छु, वेटर, मेकानिक बन्छु भन्ने भावना राख्ने बालबालिकाले मन लगाएर पढेको देख्दा आनन्द लाग्ने उनको भनाइ छ । ‘स्कुल शिक्षा पूरा गरे भविष्यमा बच्चा आफैले पनि केही गरेर अगाडि बढ्न सक्ने आधार बन्ने छ भन्ने लागेको छ । त्यसैले छोरीलाई पढाउने राम्रो स्कुल खोज्दै यहाँसम्म आएकी हुँ,’ बाराकी रञ्जना बरालले भनिन् । अभिभावकहरुले कक्षा ११ र १२ को पनि पढाइ सुरु गरे हुन्थ्यो भन्ने चाहना राखेको अध्यक्ष थपलिया बताउँछन् । तर त्यसका लागि तत्काल स्रोत नभएको उनले बताए ।
