नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आइतबार पनि सेवा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
What you should know
रामेछाप — गोकुलगंगा गाउँपालिकाले आइतबारसमेत सबै सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य संस्था नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त निर्णय गर्दै यही वैशाख १६ गते बुधबारदेखि यो नियम लागू हुने जनाएको हो।
गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काका अनुसार यस निर्णयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। अब गाउँपालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरू आइतबार पनि अन्य कार्यदिनसरह सञ्चालन हुनेछन्।
निर्णयका प्रमुख कारणमध्ये शैक्षिक क्षति न्यूनीकरणलाई प्राथमिकता दिइएको छ। हप्तामा दुई दिन बिदा हुँदा विद्यार्थीले तोकिएको वार्षिक पाठ्यघण्टा पूरा गर्न नसक्ने र शैक्षिक गुणस्तरमा असर पर्ने देखिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष खड्काको भनाइ छ ।
त्यस्तै, गाउँपालिकाको भौगोलिक अवस्था तथा इन्धन खपत न्यून हुने भएकाले इन्धन बचतका लागि आइतबार बिदा आवश्यक नदेखिएको पनि निर्णयमा उल्लेख छ। स्वास्थ्य सेवा संवेदनशील हुने भएकाले आइतबार बिदा हुँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रभावित हुने समस्या समाधान गर्न यो कदम चालिएको गाउँपालिकाले जनाएको छ।
नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आइतबार पनि सेवा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । अब नयाँ व्यवस्था अनुसार कार्यालयहरू बिहान १० देखि साँझ ५ बजेसम्म, विद्यालयहरू बिहान १० देखि अपराह्न ४ बजेसम्म र शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछन्। निर्णयको पूर्ण कार्यान्वयनमा सहयोग गर्न सम्पूर्ण कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।
