रामेछाप चिनाउन फोटो प्रदर्शनी

फोटो प्रदर्शनीमा जिल्लाका प्रमुख ऐतिहासिक तथा धार्मिक स्थलहरू खाँडादेवी मन्दिर, थानापति महादेव थान, चिसापानी गढी, तिल्केस्थान गढी, भोटनागी चिया बगानदेखि रामेछापकै सबैभन्दा ठूलो मानिने घ्याप्चे पहिरोको अवस्था झल्काउने तस्बिरहरू राखिएका थिए ।

वैशाख १३, २०८३

नवराज श्रेष्ठ

Photo exhibition to introduce Ramechhap

What you should know

रामेछाप — जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको छ। राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा नेपाल राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले आइतबार विभिन्न स्थल झल्काउने तस्बिरहरू सार्वजनिक गरेको हो।

फोटो प्रदर्शनीमा जिल्लाका प्रमुख ऐतिहासिक तथा धार्मिक स्थलहरू खाँडादेवी मन्दिर, थानापति महादेव थान, चिसापानी गढी, तिल्केस्थान गढी, भोटनागी चिया बगानदेखि रामेछापकै सबैभन्दा ठूलो मानिने घ्याप्चे पहिरोको अवस्था झल्काउने तस्बिरहरू राखिएका थिए। त्यसै गरी जिल्लाबाट बग्ने तामाकोशी, सुनकोशी लगायतका नदी तथा खोलाहरूको सौन्दर्यसमेत फोटोमार्फत प्रस्तुत गरिएको छ।

प्रदर्शनीमा राखिएका तस्बिरहरू जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीय बासिन्दाले अवलोकन गरेका छन्। अवलोकनकर्ताहरूले प्रदर्शनीलाई निकै प्रभावकारी र सन्देशमूलक भएको प्रतिक्रिया दिए । यस्ता कार्यक्रमले जिल्लाको पहिचान अझ बलियो बनाउने उनीहरूले बताए। केहीले घ्याप्चे पहिरो जस्ता विपद्का दृश्यहरूले जोखिमबारे सचेत गराएको उल्लेख गरे भने कतिपयले यस्ता तस्बिरले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले तस्बिरले सत्य बोल्ने र समाजको यथार्थ चित्रण गर्ने भएकाले फोटो पत्रकारिताको विशेष महत्त्व रहेको बताए। उनले फोटो पत्रकारहरूमा समर्पण, साहस र सृजनशीलता झल्किने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ रामेछापका केन्द्रीय सदस्य नवराज पथिकले समाजका कथा क्यामेरामा कैद गर्दै सत्य उजागर गर्न फोटो पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। रामेछापका लुकेका सम्पदालाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षासहित फोटो प्रदर्शनी गरिएको नेपाल राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका अध्यक्ष मिलन विकले बताए । फोटो प्रदर्शनीसँगै समूहले २०८३ सालको भित्ते पात्रो सार्वजनिक गर्नुका साथै प्रथम साधारण सभा पनि सम्पन्न गरेको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully