लयमा फर्कँदै सुकुटेको पर्यटन

गर्मी सुरु भएसँगै सुनकोशी र भोटेकोशी किनारका होटल–रिसोर्टहरूमा यतिबेला आन्तरिक र विदेशी पाहुनाको चहलपहल बढ्न थालेको छ।

वैशाख ८, २०८३

अनिश तिवारी

What you should know

सिन्धुपाल्चोक — गर्मी सुरु भएसँगै सिन्धुपाल्चोकको चर्चित पर्यटकीय क्षेत्र सुकुटे क्षेत्रमा चहलपहल बढेको छ ।  

सुनकोशी र भोटेकोशी किनारका होटल–रिसोर्टहरूमा यतिबेला आन्तरिक र विदेशी पाहुनाको चहलपहल बढ्न थालेको हो । साहसिक खेल ‘र्‍याफ्टिङ’ ले तानेको यो भीडले स्थानीय पर्यटन व्यवसाय पुनर्जीवित हुँदै गएको संकेत दिएको व्यवसायीहरु बताउँछन् ।

सिजनको सुरुवातमै दैनिक दुई सयभन्दा बढी पर्यटक ‘र्‍याफ्टिङ’का लागि आउने गरेका छन् । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार यहाँका अधिकांश रिसोर्ट भरिभराउ छन् । 'जाडो सकिएर ‘र्‍याफ्टिङ’को सिजन सुरु भएसँगै पर्यटक दोब्बर भएका छन् । अहिले यहाँका सबै होटललाई भ्याइनभ्याइ भएको उनले बताए । यहाँका हरेक रिसोर्टमा दैनिक ५० जना भन्दा बढी पर्यटक आउन थालेको उनले बताए ।

सुकुटे क्षेत्रका व्यवसायीका अनुसार एउटा रिसोर्टमा दैनिक कम्तीमा ५० आन्तरिक र २० जना विदेशी पर्यटक आउने गरेका छन् । विशेषगरी शुक्रबार र शनिबार होटलहरू पूर्ण रूपमा भरिने भएकाले अग्रिम बुकिङ अनिवार्यजस्तै बन्न थालेको छ ।

काठमाडौंंदेखि युरोप र अमेरिकासम्मका पर्यटक ‘र्‍याफ्टिङ’का लागि सुनकोशी किनार पुग्ने गरेका छन् । बगर बास, क्याम्प फायर, सामूहिक मनोरञ्जन र राजधानीबाट छोटो दूरीको यात्राले सुकुटे लोकप्रिय गन्तव्य बनेको छ । चितवन पुरानो गवाइका रामचन्द्र थापाले साथीसँग भेटघाट र साहसिक अनुभवका लागि सुकुटे रोजेको बताए । 'साथीहरूसँग पुराना दिन सम्झन र रमाइलो गर्न यो उपयुक्त ठाउँ रहेछ,' उनले भने ।

२०७२ सालको भूकम्पपछि थलिएको यहाँको पर्यटन विस्तारै उकासिँदै गएको छ । भूकम्पअघि कोशी किनारका रिसोर्टमा मात्रै वार्षिक सात लाखसम्म पर्यटक आउने गरेका थिए । अहिले पुनः पूर्वाधार सुधार भएसँगै पर्यटन लयमा फर्कन थालेको पर्यटन व्यवसायी अञ्जन खड्काले बताए ।

उनका अनुसार जल पर्यटनकै कारण जिल्लामा झन्डै १० हजारले रोजगारी पाएका छन् । 'र्‍याफ्टिङ मुख्य आकर्षण हो, तर यससँगै क्यानोनिङ, बन्जी जम्प, माउन्टेन बाइकिङजस्ता गतिविधिले पनि पर्यटक तानिएका छन्,' उनले भने ।

सिजनको सुरुवातमै देखिएको उत्साहले यस वर्ष सुकुटे क्षेत्रको पर्यटन व्यवसाय अझ उकालो लाग्ने संकेत दिएको उनले बताए।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully