चेपाङ बस्तीमा विद्युत् विस्तार र काठेपोल हटाउन सरकारसँग माग

ऊर्जामन्त्री श्रेष्ठले गाउँपालिकाबाट उठाइएका मागलाई सकारात्मक रूपमा लिएको र चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

वैशाख ६, २०८३

प्रताप विष्ट

हेटौंडा — चेपाङ बस्तीमा विद्युतीकरण लगायतका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराइएको छ । जीर्ण बनेका काठका पोल हटाउने लगायतका विषयमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर मन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेको हो ।

विद्युत् सेवा विस्तार र जोखिमयुक्त काठेपोल विस्थापनका लागि माग राखिएको अध्यक्ष मल्लले बताए । 

चेपाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा विद्युत्, सडकजस्ता आधारभूत पूर्वाधारको पर्याप्त पहुँच छैन । स्थानीय बासिन्दाको आर्थिक अवस्था कमजोर छ । 

विद्युतीकरण पुगेका स्थानमा समेत पुराना काठका पोलका कारण दुर्घटनाको उच्च जोखिम रहेको उल्लेख गर्दै ती पोलहरुलाई सुरक्षित संरचनाबाट प्रतिस्थापन गर्नुपर्ने आवश्यकताबारे ध्यानार्षण गराइएको मल्लले बताए ।

गाउँपालिकाले वडा नम्वर २ को जम्मुओढार क्षेत्रमा नयाँ विद्युत् लाइन विस्तार गर्न तथा माछाबेँसी, थुम्की, आपबारी, बरेटार, कालीधाप, सिमिटार, निङराङ, स्यामाङलगायत स्थानमा रहेका काठेपोल हटाउन आग्रह गरेको छ । त्यस्तै वडा नं. ३ को गुल्मेटदेखि चमेरो गुफासम्म, वडा नं. ४ का बिन्देश, लुभुटी, छाकाडाँडालगायत क्षेत्रका साथै वडा नं. ५, ६, ७ र ९ का विभिन्न स्थानमा विद्युत् सेवा विस्तारको माग गरिएको छ ।

यसका अतिरिक्त वडा नं. २, ३, ४ र ७ अन्तर्गत थुम्की, आँपबारी, केराबारी, आलखोप, सरिखेत, लुथरी, भोर्ल्याङ, रानीवाङ, हात्तीछाल चौतारा, जिर्खेडााडा, घट्टखोला र माइसिराङलगायत स्थानमा रहेका जीर्ण काठका पोल हटाउन विशेष रुपमा जोड दिइएको छ । 

मन्त्री श्रेष्ठले गाउँपालिकाबाट उठाइएका मागलाई सकारात्मक रूपमा लिएको र चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको मल्लले जानकारी गराए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully