डिभिजन वन कार्यालय चौताराको नेतृत्वमा स्थानीय समुदायको सहकार्यमा डढेलो नियन्त्रणका पूर्वतयारी कार्य तीव्र पारिएको हो ।
सिन्धुपाल्चोक — गर्मी र हावाहुरीसँगै बढ्दै गएको वन डढेलोको जोखिम न्यूनीकरण गर्न जिल्लाभर ३० भन्दा बढी सामुदायिक वनमा अग्निरेखा निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चौताराको नेतृत्वमा स्थानीय समुदायको सहकार्यमा डढेलो नियन्त्रणका पूर्वतयारी कार्य तीव्र पारिएको हो ।
डिभिजन वन कार्यालयका अनुसार अग्निरेखा निर्माणसँगै सरसफाइ, फिल्ड अभ्यास, प्रायोगिक तालिम तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । हरित स्वयंसेवक संयोजक शारदाप्रसाद चालिसेको सक्रियतामा विभिन्न सब–डिभिजन वन कार्यालयहरूको समन्वयमा अभियान अघि बढाइएको हो ।
'यँहाको गौरती, भगवती, सन्सारी, लाम्पाते, श्रीछाप, बन्देउ ठुलोपातल, अम्बाघारी, चापबोटे, सल्लाघारीलगायत वनमा अग्निरेखा निर्माण गरिएको छ ,' चालिसेले भने । यसैगरी ForestAction Nepal को सहयोगमा बाजेकपासे र भेडीगोठ वनमा पनि यस्तो कार्य गरिएको छ भने अन्य सामुदायिक वनमा झाडी सुधार र सरसफाइ अभियान जारी रहेको उनले बताए ।
बलेफी गाउँपालिका–४ स्थित माथिल्लो बिन्जेल चापबोटे सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि जोखिमयुक्त भूगोल पहिचानसहित अग्निरेखा निर्माण गरिएको चालिसेले जनाए । 'डढेलोका घटना बढेपछि सचेतना कार्यक्रमलाई व्यापक बनाएका छौं, अब अन्य वनमा पनि अग्निरेखा निर्माण र सरसफाइलाई निरन्तरता दिइन्छ, रिचार्ज पोखरी बनाइँदैछ ,' उनले भने।
वन क्षेत्रमा बनाइने अग्निरेखाले एक स्थानमा लागेको आगो अर्को भागमा फैलिन नदिने तथा फैलिहाले पनि क्षति न्यून गर्ने लक्ष्य राखिएको छ । हाल प्रत्येक वनमा करिब १,२०० मिटर लम्बाइ र ५ मिटर चौडाइमा अग्निरेखा निर्माण भइरहेको जनाइएको छ । सिन्धुपाल्चोकमा रहेका ५३० सामुदायिक वनमध्ये जोखिमयुक्त क्षेत्र छनोट गरी चौतारा, मेलम्ची, नवलपुर, जलवीरे र डाँडापाखारलगायत ६ सब–डिभिजन कार्यालयमार्फत प्रति वन एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालयका प्रतिनिधि रमेश दुलालले बताए ।
कुल लागतको २० प्रतिशत भने सामुदायिक वन उपभोक्ता समूहले व्यहोर्ने व्यवस्था गरिएको छ । फागुनदेखि जेठसम्म हावाहुरी चल्ने, पुराना पात झर्ने र नयाँ पालुवा उम्रने समय भएकाले डढेलोको जोखिम उच्च रहने गर्छ । जिल्ला प्रहरीका अनुसार हालसम्म गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत भोटेकोशी, त्रिपुरासुन्दरी, जुगल र लिसंखु क्षेत्रका वनमा लागेको डढेलोबाट करिब ८२ हेक्टर वन क्षेत्र नष्ट भइसकेको छ ।
