स्थानीय तह र प्रदेश सरकारको संयुक्त पहलमा पूर्वाधार विकास हुँदै जाँदा भालुखोप डाँडा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
What you should know
रामेछाप — रामेछाप नगरपालिका वडा नं. ६ र ७ को सीमास्थित भालुखोप डाँडामा नयाँ वर्ष २०८३ को अवसरमा आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ। वर्षको पहिलो दिन घुमफिरका लागि आएका पर्यटकको चहलपहलले डाँडा क्षेत्र नै उत्साहपूर्ण बनेको थियो।
पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा भ्युटावर निर्माण भएसँगै घुम्न आउनेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको स्थानीयले बताए। उनीहरूका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन अझै उत्साहजनक देखिएको छ।
भालुखोप डाँडामा अवस्थित भ्यु टावरबाट रामेछापसहित ओखलढुङ्गा र सिन्धुली जिल्लाका विस्तृत भू–भागको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। घुम्न आएका रामचन्द्र विकका अनुसार उचाइबाट देखिने प्राकृतिक सौन्दर्य र फराकिलो भू–दृश्यले पर्यटकलाई विशेष रूपमा आकर्षित गर्ने गरेको छ।
रामेछाप नगरपालिकाको करिब १ करोड ४१ लाख रुपैयाँ लागतमा करिब ६० फिट अग्लो भ्युटावर केही वर्षअघि निर्माण गरिएको हो। यस क्षेत्रलाई थप व्यवस्थित बनाउन शौचालय, गार्ड घर, टिकट काउन्टर तथा खानेपानीका संरचना समेत निर्माण गरिएका छन्।
तर, पूर्वाधार निर्माण भए पनि व्यवस्थापन पक्ष कमजोर देखिएको पर्यटकहरूले गुनासो गरेका छन्। मन्थली नगरपालिका–९ पुरानागाउँकी सरिता श्रेष्ठका अनुसार खानेपानीको धारा भए पनि पानीको व्यवस्था छैन भने शौचालयहरू बन्द अवस्थामा छन्, जसका कारण पर्यटकहरूले असहजता भोग्नु परेको छ। उनले स्थानीय सरकारले यसतर्फ शीघ्र ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।
विशेष गरी टावर डाँडाका रूपमा समेत परिचित भालुखोप क्षेत्रमा बागमती प्रदेश सरकारको लगानीमा भ्यु टावरसम्म पुग्ने ३ सय मिटरभन्दा बढी ठाडो बाटोमा आकर्षक खुड्किला निर्माण गरिएकाले पहुँच सहज बनेको छ। भ्युटावर चढ्न प्रतिव्यक्ति २० रुपैयाँ शुल्क लिने व्यवस्था गरिएको छ। स्थानीय तह र प्रदेश सरकारको संयुक्त पहलमा पूर्वाधार विकास हुँदै जाँदा भालुखोप डाँडा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
