मन्थली अस्पताललाई सेवा मापदण्डमा ५४ अंक, सुधारका लागि सुझाव

निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेलको नेतृत्वमा आएको टोलीले शुक्रबार स्थलगत मूल्यांकन गरी शनिबार अंक सार्वजनिक गरेको हो।

चैत्र २८, २०८२

नवराज श्रेष्ठ

Manthali Hospital gets 54 points in service standards, suggestions for improvement

What you should know

रामेछाप — बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले मन्थलीस्थित मन्थली अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्था मापन गर्दै ५४ अंक दिएको छ।

निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेलको नेतृत्वमा आएको टोलीले शुक्रबार स्थलगत मूल्यांकन गरी शनिबार अंक सार्वजनिक गरेको हो।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा डा. पौडेलले अस्पतालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै पहिलो पटकको मूल्यांकनमै प्राप्त ५४ अंकलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनका अनुसार मापनमा सुशासनतर्फ २० प्रतिशत, चिकित्सकीय सेवातर्फ ६० प्रतिशत र सहयोगी सेवातर्फ २० प्रतिशत भार निर्धारण गरिएको थियो।

उनले अस्पतालले साना–साना सुधारका पक्षमा ध्यान दिन सके आगामी दिनमा राम्रो नतिजा ल्याउन सक्ने बताए। विशेष गरी सुशासनका औजारहरूको प्रभावकारी कार्यान्वयन र सेवा व्यवस्थापनमा सुधार आवश्यक रहेको उनको सुझाव छ।

यता, अस्पतालको आन्तरिक मूल्यांकनमा भने पछिल्ला वर्षमा अंक घट्दो क्रममा देखिएको छ। अस्पताल प्रमुख डा. केशव धामीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ८७, २०८०/०८१ मा ९०.६७ र २०८१/०८२ मा ८९.४७ अंक रहेकोमा चालु आर्थिक वर्ष २०८२/०८३ मा घटेर ६८ अंकमा झरेको छ।

नगर स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले सबै सरोकारवालाको सहकार्यमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। नगरप्रमुख लव श्रेष्ठले मन्थली नगर अस्पताल नगरको गौरव भएको उल्लेख गर्दै योजना कार्यान्वयन र सुशासनमा देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा सेवा स्तर उकास्न लाग्ने प्रतिबद्धता व्यक्त गरे। मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली नगर अस्पतालका रूपमा २०७८ माघ २७ गतेदेखि सञ्चालन गरिरहेको छ ।

मन्थली अस्पताले अहिले २४ घण्टा इमरजेन्सी सेवा, पोस्टमार्टम, शल्यक्रियासहितको सुत्केरी सेवा, फिँजियोथेरापी, आँखा र दन्त सेवा, ल्याब सेवालगायतका विभिन्न २५ भन्दा बढी सेवा प्रदान गरिरहेको छ ।
यो अस्पतालमा दोलखा, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु जिल्लाका समेत गरी दैनिक २५० बढी जनालाई सेवा दिँदै आएको अस्पतालका प्रमुख डा.धामीले बताए । मन्थली अस्पतालबाट स्वास्थ्य बिमामार्फत पाउने सेवा पनि उपलब्ध गराइएको उनले बताए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully