गाउँगाउँमा मधुमेह र उच्च रक्तचापका बिरामी

गाउँपालिकाले जंकफुड, बोतलका पेय पदार्थको बिक्री वितरण र उपभोगमा रोक लगाउन खोजे पनि सफल नभएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

चैत्र २८, २०८२

प्रताप विष्ट

Diabetic and high blood pressure patients in rural areas

What you should know

हेटौंडा — मकवानपुरका दुर्गम र विकट गाउँमा दीर्घरोगी भेटिन थालेका छन् । पहाडी बस्तीका बासिन्दामा पनि मधुमेह र रक्तचापको समस्या पाइएको हो ।

राक्सिराङ गाउँपालिकामा मधुमेह र रक्तचापका बिरामी धेरै भेटिएको राक्सिराङ आधारभूत अस्पतालका चिकित्सक योगेन्द्रमेहर श्रेष्ठले बताए । उनका अनुसार पहाडी बासिन्दामा मोटोपनको समस्या नभए पनि यस्तो रोग भएका धेरै भेटिएका हुन् । गाउँका बासिन्दामा तयारी पेय पदार्थ धेरै पिउने बानी परेकाले पनि यस्ता रोग देखिएको हुन सक्ने उनले बताए । 

‘पानीको सट्टा यहाँका बासिन्दा तयारी पेय पदार्थ पिउँछन्,’ उनले भने, ‘बोतलका पेयमा चिनीको मात्रा धेरै हुन्छ, जसले सुगर र प्रेसर बढाउने गरेको पाइएको छ ।’ उक्त आधारभूत अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउनेदेखि बस्तीमा आयोजना गरिने शिविरमा स्वास्थ्य परीक्षण गर्दा पनि मधुमेह, रक्तचाप र हड्डी दुख्ने रोगी धेरै फेला पर्ने गरेको राक्सिराङ गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए ।

‘यहाँका मानिसले बोतलका गुलिया पेय पदार्थ पिउने गर्छन्,’ उनले भने, ‘एउटा मान्छेले एकै पटकमा एउटा जम्बो बोतलको पेय पदार्थ रित्याउने गरेको देखेको छु । खाना, खाजासित पनि पेय पदार्थका बोतल लिएर बस्छन् ।’

गाउँपालिकाले जंकफुड, बोतलका पेय पदार्थको बिक्री वितरण र उपभोगमा रोक लगाउन खोजे पनि सफल नभएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ–५, ठाडोचुरीमा १० शय्याको अस्पताल छ ।

अस्पतालमा दैनिक ३० देखि ४० जना स्वास्थ्य परीक्षण गराउन आउँछन् । उनीहरूमध्ये ७५ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप र हाडजोर्नीको समस्या पाइने चिकित्सक श्रेष्ठले बताए । बोतलमा उपलब्ध हुने तयारी पेय पदार्थमा चिनीको मात्रा धेरै हुने भएकाले धेरै सेवन गर्दा मानिसको शरीरमा असर गर्न सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी वरिष्ठ खाद्य अधिकृत विमला पोखरेलले बताइन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully