सिन्धुपाल्चोक बलेफीमा अनुदानको मल अवैध भण्डारण : ३ सयभन्दा बढी बोरा बरामद

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मल अवैध रुपमा भण्डारण गरेर महँगो मूल्यमा बिक्री गरेको पाइएपछि दुई छुट्टाछुट्टै स्थानबाट ३ सयभन्दा बढी बोरा मल फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ हेड क्वाटर सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए ।

चैत्र २६, २०८२

अनिश तिवारी

Illegal storage of subsidized fertilizer in Sindhupalchowk Balefi: More than 300 bags seized

सिन्धुपाल्चोक — प्रहरीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका क्षेत्रबाट ३ सयभन्दा बढी बोरा अनुदानको मल बरामद गरेको छ । 

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मल अवैध रुपमा भण्डारण गरेर महँगो मूल्यमा बिक्री गरेको पाइएपछि दुई छुट्टाछुट्टै स्थानबाट ३ सयभन्दा बढी बोरा मल फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ हेड क्वाटर सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए । उनका अनुसार बलेफी गाउँपालिका–७ खाडीचौरस्थित 'साजन किराना पसल’को गोदामबाट ७४ बोरा युरिया र १९० बोरा डिएपी मल फेला पारिएको छ। राजन श्रेष्ठले सञ्चालन गरेको उक्त पसलमा सरकारबाट अनुदानमा उपलब्ध गराइने 'खेतीशक्ति’ ब्रान्डको मल लुकाइ राखिएको भेटिएपछि गोदाम सिल गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । 

यस्तै, बलेफी–५ कोठेमा मंगलमाया श्रेष्ठको घरको सटरमा अजय तामाङले ३६ बोरा युरिया मल अवैध रूपमा भण्डारण गरेको अवस्थामा फेला परिएको छ । दुवै स्थानमा भेटिएको मल गणना गरी आवश्यक मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ। खाडीचौरमा दिउँसो करिब ४:३० बजे र कोठेमा साँझ करिब ५:४० बजे प्रहरीले छापा मारेको थियो। सशस्त्र प्रहरी बल बेस लामोसाँघुबाट सप्रनाउ सियाराम चौधरी र इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक दुपेन्द्र बुढाथोकीको कमाण्डमा संयुक्त टोली खटिएको थियो।

'प्रारम्भिक अनुसन्धानअनुसार अनुदानको मल सहकारीमार्फत मात्र वितरण गर्नुपर्ने प्रावधान हुँदाहुँदै निजी पसलेहरूले अवैध रूपमा भण्डारण गरी महँगो मूल्यमा बिक्री गर्दै आएको आशंका गरिएको छ,' उनले भने । 

बरामद मलको स्रोत, संलग्न व्यक्तिको भूमिका र सम्भावित संजालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कृषि सिजनको मुखमा मल अभाव हुने गरेका बेला यस्तो गतिविधिले किसान प्रत्यक्ष मारमा पर्ने भन्दै स्थानीयले कडा कारबाहीको माग गरेका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully