कालिञ्चोकमा हिमपातपछि होटल व्यवसायी र पर्यटक उत्साहित बनेका छन् । वर्षा र असिनाले किसाहरु आलु बिग्रिने चिन्ता र मकै सप्रिने आशमा छन् ।
दोलखा — दोलखाको उच्च हिमाली भेगमा हिमपात र तल्लो भेगमा हिउँदे वर्षा भइरहेको छ । बुधबार दिउँसोबाट पुनः मौषममा भएको बदलीसँगै कालिञ्चोक, बेदिङलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
गत सोमबार पनि दोलखामा तिव्रगतिको हावाहुरीसहति उच्च भेगमा हिमपात भएको थियो । दिन बिराएर वर्षा र हिमपात भएपछि उच्च भेगमा चरनका लागि पुगेका चौंरी गोठ प्रभावित बनेका छन् । चैत अन्तिम सातासम्म हिमपात भएसँगै चिसो बढेको छ । तल्लो क्षेत्रमा आलु गोड्ने बेलामा भइरहको असिनासहितको नियमित वर्षाका कारण किसान फल नलाग्ने चिन्तामा छन् । मकै छरिसकेका किसान भने बारी भिजेका कारण मकैको टुसा पलाउने भन्दै खुसी देखिएका छन् ।
हिमपातपछि कालिञ्चोकका होटल व्यवासयी आन्तरिक पर्यटकको चहलपहल बढ्ने भन्दै उत्साहित बनेका छन् । कालिञ्चोक क्षेत्र घुम्न र दर्शन गएका आन्तरिक पर्यटकका सवारीसाधन हिउँका कारण बाटोमै अलपत्र परेका छन् ।
पर्यटकको सिजन सुरू भएसँगै पर्यटकीय गाउँ बेदिङ र नामा बाक्लो हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । हिमपात कारण लुम्नाङबाट याक, चौंरी लिएर लप्ची पुगेका बिगु गाउँपालिका-१ लप्चीका बासिन्दा पनि प्रभावित भएका छन्।
चिसो छल्न लुम्नाङ झर्ने लप्चीबासी चैत लागेसँगै याक, चौंरी लिएर लप्ची उक्लने गर्छन् । यो वर्ष ढिलो गरी लप्ची उक्लिए पनि निरन्तरको हिमपातले चिसो बढेर घरबाहिर निस्कन कठिन भएको स्थानीयले बताएका छन् । विगतका वर्षमा यतिबेला गर्मी बढ्ने गरेकोमा यो वर्ष दोलखामा चैत पहिलो साताबाट हिमपात र दिन बिराएर वर्षा भइरहेको छ ।
