शर्मिला चैत १५ गते राति पति ३६ वर्षीय गोपीलाल तामाङको कुटपिटबाट गम्भीर घाइते भएकी थिइन्। २०७० सालमा प्रेमविवाह गरेपछि नै निरन्तर हिंसा र यातना सहँदै आएको उनले बताएकी छन्।
What you should know
रामेछाप — लामो समयदेखि पारिवारिक हिंसा सहँदै आएकी गोकुलगंगा गाउँपालिका–६, फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ। अस्पतालको शय्यामा पीडासँग संघर्ष गरिरहेकी शर्मिलालाई राहतस्वरूप १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।
आइतबार मन्थलीस्थित मन्थली नगर अस्पतालमा आयोजित कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले सहयोग रकम हस्तान्तरण गरे। कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ तथा मन्थली नगर अस्पतालका प्रमुख डा. केशव धामीलगायतको उपस्थिति थियो। शर्मिला चैत १५ गते राति पति ३६ वर्षीय गोपीलाल तामाङको कुटपिटबाट गम्भीर घाइते भएकी थिइन्। २०७० सालमा प्रेम विवाह गरेपछि नै निरन्तर हिंसा र यातना सहँदै आएको उनले बताएकी छन्। पटक–पटक कुटपिटसँगै आफ्नो चरित्रहत्या गर्ने प्रयाससमेत भएको उनको गुनासो छ।
घटनापछि गम्भीर घाइते भएकी शर्मिलाको प्रारम्भिक उपचार मन्थलीस्थित तामाकोशी अस्पतालमा गरिएको थियो। त्यसपछि मन्थली नगर अस्पतालमा थप उपचार सुरु गरिएको र दाँतमा जटिल समस्या देखिएपछि काठमाडौँमा उपचार गराई पुनः मन्थलीमै उपचार जारी रहेको अस्पताल प्रमुख डा. धामीले जानकारी दिए। शर्मिलासँगै उनकी १२ वर्षीया छोरी गुञ्जन तामाङ र ७ वर्षीय छोरा सुजल तामाङ अस्पतालमै रहेका छन्। घटनापछि प्रहरीले घरेलु हिंसाको आरोपमा गोपीलाल तामाङलाई चैत १७ गते घरबाटै पक्राउ गरेको छ। हाल उनी प्रहरी हिरासतमा रहेको जनाइएको छ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले पीडितलाई न्याय दिलाउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले महिलामाथि हुने घरेलु हिंसाविरुद्ध समाज र राज्य संयन्त्र दुवै संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए।
