कांग्रेस बागमती संसदीय दलको बैठक : एक हप्ताभित्र प्रदेशसभा बोलाउन र ७०१ कर्मचारी कटौती प्रस्ताव

मंगलबार काठमाडौंमा बसेको बैठकले एक हप्ताभित्र प्रदेशसभा बैठक बोलाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय पनि गरेको छ ।

चैत्र १७, २०८२

सुवास विडारी

Congress Bagmati Parliamentary Party meeting: Proposal to convene the Provincial Assembly within a week and cut 701 employees

मकवानपुर — कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सञ्चालनदेखि प्रशासनिक संरचना पुनःसंरचनासम्मका महत्वपूर्ण निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बैठकले एक हप्ताभित्र प्रदेशसभा बैठक बोलाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिको मस्यौदामाथि छलफल गर्दै हाल रहेका १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने प्रस्ताव अघि बढाइएको छ । मस्यौदाअनुसार ७ निर्देशनालयलाई २ मा झार्ने र ५ वटा निर्देशनालय खारेज गर्ने योजनासमेत अघि सारिएको छ । सोही प्रस्तावअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने विषयलाई सरकारमा सहभागी दुई दलबीच छलफल गरी पारित गर्न सरकारलाई अनुरोध गरिएको छ ।

बैठकले कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । साथै, पार्टीभित्र देखिएका आन्तरिक समस्या सहमति र संवादमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सफल बनाउन दुवै पक्षलाई आग्रह गरिएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully