स्थानीयले समस्या समाधानमा ढिलाइ भए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।
What you should know
सिन्धुपाल्चोक — जिल्लाका जुगल र बलेफी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको ब्लास्टिङका कारण घरहरू चर्किन थालेपछि स्थानीय आक्रोशित बनेका छन्। जुगल गाउँपालिका–२, ३, ४ र ५ का विभिन्न बस्तीमा पर्ने क्षतिपछि प्रभावितहरूले प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
जुगल गाउँपालिका–३ का दीपु, तेगा, तेम्बाथान तथा वडा नं २ लगायतका बस्तीमा घर चिरा पर्ने, धसिने र बस्नै जोखिम हुने अवस्था आएको स्थानीय मिङ्मार लामाले बताए। उनका अनुसार करिब ९ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाले सुरुङ खन्ने क्रममा जथाभावी ब्लास्टिङ गर्दा बस्तीमा क्षति पुगेको हो।
'हाम्रो घर ध्वस्तजस्तै भएको छ, जोखिममा बस्नुपरेको छ,' उनले भने, 'आयोजनाविरुद्ध गुनासो सुन्ने निकाय नै छैन।' यँहाका मात्रै दशभन्दा बढी घर चर्किएर जोखिमपूर्ण बनेको र चर्किएको घरमा बस्न त्रसित हुनु परेको उनको भनाइ छ । जलविद्युत् कम्पनीका अध्यक्ष भरत पराजुली राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सिन्धुपाल्चोक १ का सांसद हुन् ।
स्थानीयका अनुसार लिदी, दीपु, साङगिलिङ, सानो टेका, ठूलो टेका, तेस्याथान, हेमालोल्मा, गुम्बा बोटे, पाङसाङ, गुम्दाङगाउँ, कार्तिके र सुनखोला क्षेत्रका बस्तीहरूमा ब्लास्टिङले घर चर्किएका छन्। प्रभावितहरूले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्। ज्ञापनपत्रमा सडक विस्तारका क्रममा जग्गा प्रयोग गरी मुआब्जा नदिएको, पूर्व परीक्षणबिनै ब्लास्टिङ गरिएको र बस्तीमा क्षति पुर्याएको उल्लेख छ। जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले समस्याबारे स्थलगत अध्ययन गर्ने तयारी भइरहेको बताए।
'प्रभावितहरूले क्षतिपूर्ति, जोखिम मूल्याङ्कन, सुरक्षित निर्माण प्रक्रिया, स्थानीयलाई रोजगारी, सडक–पुल निर्माण व्यवस्थापन तथा पहिरो नियन्त्रणको माग गरेका छन्। स्थलगत अध्ययन गर्ने तयारी गरिरहेका छौ,' उनले भने । जिल्ला प्रशासन कार्यालयले जुगल गाउँपालिकालाई पत्राचार गर्दै स्थानीयका १३ बुँदे माग सम्बोधन गर्न आग्रह गरेको छ। यस्तै समस्या बलेफी गाउँपालिका–१ जलवीरेमा पनि देखिएको छ। ब्रह्मायणी नदीमा निर्माणाधीन २० मेगावाट क्षमताको साझा जलविद्युत् आयोजनाले सुरुङ निर्माणका क्रममा गरेको 'ब्लास्टिङ'ले ढुंगा उछिट्टिँदा कम्तीमा ८ घरमा क्षति पुगेको स्थानीयले बताएका छन्। छत र भित्ता चर्किएपछि परिवार त्रसित बनेका छन्।
चौतारा साँगाचोकगढी–३ तथा आसपासका फुल्पिङकोट, धुस्कोट, बतासे, खरिटार र रानिटार क्षेत्रका केही बस्तीमा पनि यस्तै समस्या देखिएको स्थानीयको भनाइ छ। प्रभावितहरूले क्षतिपूर्ति र घर मर्मतका लागि जनप्रतिनिधि तथा प्रशासनसँग माग गरेका छन्। यसअघि स्थानीयले आन्दोलनसमेत गरेका थिए। आयोजनाले तटबन्ध निर्माण गर्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको गुनासो छ। बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले आयोजनाबाट यसबारे औपचारिक जानकारी नआएको बताए। स्थानीयले समस्या समाधानमा ढिलाइ भए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।
हिमाल जोड्ने पदमार्ग पनि ध्वस्त
जुगल हिमश्रृंखलाका ११ मध्येको एक चुचुरो ६ हजार १ सय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भइसकेको छ । बौद्ध धर्मको प्रसिद्ध बज्रायान परम्पराअनुसार जुगलको ने–सम् खोलादेखि उताका निमाडोमा, लक्याप, तेम्बाथाङ, दीपु, तेगासहित हिमश्रृंखला क्षेत्र तीर्थस्थल पनि मानिन्छन् ।अझ जुगलको फेदीमा रहेको फराकिलो जंगली इलाका र समथर मैदान ने–पेमासालको अर्थ नै हो देवताको स्वर्ग हो । यहाँको तोङक्युप गुफा र मैदान बौद्ध धर्मको प्रसिद्ध बज्रायान सम्प्रदायका बज्रगुरु पद्मसम्भवा (रिम्पोछे)को तपोभूमि र छेन्दाङ पाल्देन माम् देवीको बसोबासस्थल मानिन्छ । यीबाहेक ब्रह्मायाणी नदीको मूल, हजार जना अट्ने गुफा, ज्युठी ग्याप खर्क, बुम्बाशेर्बु, नेखर्क, बुम्बाशेर्बु, श्याबल पोखरीको आफ्नै धार्मिक महत्त्व र सौन्दर्य छ । तर ,आहिले यहाँको छेन्दाङसम्म ब्रह्मायणी जलविद्युत् आयोजनाले जथाभावी सडक, सुरुङ र अन्य संरचना निर्माण गर्दा हिमाल जोड्ने पुराना पदमार्ग ध्वस्त बनेका छन् ।
