महिला युवा उद्यमीका माझमा उद्यम विकासबारे विमर्श

युवा महिलाले उद्यमका क्षेत्रमा गरेका प्रगति र उनीहरुले सामना गरेका समस्याबारे भरतपुरमा शनिबार छलफल भएको हो ।

चैत्र १४, २०८२

रमेशकुमार पौडेल

Discussion on entrepreneurship development among young women entrepreneurs

What you should know

चितवन — उद्यमका लागि आवश्यक तत्व पुँजी र जमिन नभए पहिला उद्योग, व्यवसाय गर्न सक्ने अवस्था थिएन । अहिले यसको अवस्था कस्तो छ ? युवा महिलाले उद्यमका क्षेत्रमा गरेका प्रगति र उनीहरुले सामना गरेका समस्याबारे  भरतपुरमा शनिबार छलफल भएको छ । 

‘पेट मामा’की सञ्चालक हुन् निकिता जलान । सुन्दै फरक लाग्ने उद्यम ‘पेट मामा’ घरपालुवा कुकुरको स्याहारसँग जोडिएको व्यवसाय हो । नेपालमा यस्तो व्यवसाय पनि सम्भव छ र भन्नेहरुलाई निकिताले उदाहरण बनेर देखाइन् । यो व्यवसाय सुरु र सञ्चालन गर्दा पाएको हौसला र अफ्ठ्याराका बारेमा कार्यक्रममा उनले आफ्न भोगाइ सुनाइन् ।

‘दर्ता गर्न नै गाह्रो । दर्ता त भयो तर लोन (ऋण) लिन जाँदा उस्तै गाह्रो । २० लाख रुपैयाँ ऋण बैंकले नदिएको व्यथा मसँग छ । तर परिवारको साथ सहयोग र हौसला पाएँ । व्यवसाय फष्टाउँदै गएको हुँदा खुसी छु,’ निकिताले भनिन् । ऋणको सम्बन्धमा बैंकहरुको भनाइ र गराइमा आफुले व्यवहार र भोगाइबाटै फरक देखेको उनले बताइन् । 

चार्टर एकाउण्टेन्ट (सिए)समेत रहेकी सञ्जिता नेपालले माइक्रो फाइनान्स कम्पनीहरुले महिलालाई ऋण दिए पनि त्यस्तो पैसा उद्यममा भन्दा पनि घरायसी उपभोगमा सकिने गरेको बताइन् । ग्लोबल आइएमई बैंककी शाखा प्रबन्धक रहेकी अलिना घिमिरेले लगानी र बजेटका विषयमा महिलाहरु निर्धक्क निर्णय लिन सक्ने वातावरण बनाउन आवश्यक रहेको धारण राखिन् ।

उनले व्यवसायको ठोस योजना र आम्दानीको भरपर्दो आधार देखाएमा लगानी गर्न बैंकलाई समस्या नरहेको बताइन् । ‘बैंकले लगानी गर्ने भनेको ग्राहकले राखेको निक्षेप हो । निक्षेपको पनि संरक्षण गर्ने दायित्व बैंकको भएका कारण केही प्रक्रियागत कुरा हुन्छन् । नभए आम्दानी कसरी गर्ने, ऋण चुक्ता कसरी हुन्छ भन्ने तथ्यगत आधार देखाए ऋण नपाइने भन्ने हुँदैन,’ घिमिरेले भनिन् ।

व्यवासका लागि ऋण लिन बैंकमा महिला कम आउने गरेको अनुभव उनले पनि गरेकी छन् । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवन शाखाको महिला समितिले महिलाहरुको उद्यमशीलता र नेतृत्व विकासको उद्देश्य राखेर कार्यक्रम आयोजना गरेको हो ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully