कोसेली लिएर ससुराली आएका ज्वाइँ जेठानको कुटपिटबाट मारिए

घटनापछि फरार रहेका जेठान वर्ष ६० वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले खोजतलास गरी सोमबार बिहान करिब पौने ८ बजे सोही वडाको खारपानी क्षेत्रबाट पक्राउ गरेको हो ।

चैत्र १०, २०८२

नवराज श्रेष्ठ

Son-in-law beaten to death by brother-in-law after coming to in-laws with a basket of rice

काठमाडौँ — रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ मा सामान्य घरायसी विवादका क्रममा जेठानको कुटपिटबाट ज्वाइँको मृत्यु भएको छ । घटनामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोलाकुमार भट्टका अनुसार ससुराली आएका ज्वाइँ प्रेम बहादुर तामाङ (करिब ६० वर्ष) माथिलाई उनका जेठान वीरबहादुर तामाङले सोमबार साँझ कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस भएको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

तर, त्यति बेलासम्म तामाङको मृत्यु भइसकेको अवस्थामा भेटिएको डिएसपी भट्टले बताए । घटनापछि फरार रहेका जेठान वर्ष ६० वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले खोजतलास गरी सोमबार बिहान करिब पौने ८ बजे सोही वडाको खारपानी क्षेत्रबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मृतक ससुराली कोसेली लिएर आएका थिए । सोही क्रममा ससुरालीतर्फका दाजुभाइसँग सामान्य विवाद भएको र कुटपिट हुँदा संवेदनशील स्थानमा चोट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । 

घटनास्थलमा कुनै हतियार प्रयोग भएको प्रमाण नभेटिएको र मृतकको शरीरमा गम्भीर बाह्य चोटपटकसमेत नदेखिएको प्रहरीले जनाएको छ ।

डिएसपी भट्टका अनुसार पछिल्लो समय यस्ता कर्तव्य ज्यान सम्बन्धी घटनाहरू प्रायः पूर्व योजनाबिना नै क्षणिक आवेगका कारण हुने गरेको देखिएको छ । 

‘सानो विवादमै उठेको रिसलाई केही समय नियन्त्रण गर्न नसक्दा यस्ता दुःखद घटना भइरहेको देखिन्छ,’ उनले भने । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully