सीमाक्षेत्र पुगेर मन्त्री चौलागाईंले भने, 'सडक व्यवस्थित बनाउँदै खासा खोल्न पहल गर्छौं' 

शनिबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौलागाईंले चीनसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

चैत्र ७, २०८२

अनिश तिवारी

After reaching the border area, Minister Chaulagain said, ”We will take the initiative to open the border by making the road well-maintained.”

सिन्धुपाल्चोक — नेपाल–चीन सीमानाका तातोपानी क्षेत्रको अनुगमनपछि वन तथा वातावरण, भौतिक पूर्वाधार एवं यातायातमन्त्री माधवप्रसाद चौलागाईंले कोदारी राजमार्गलाई व्यवस्थित बनाउँदै खासा नाका सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।

शनिबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौलागाईंले चीनसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । 

उनले पहिरो नियन्त्रणका लागि वैज्ञानिक र दिगो उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । 'सडकलाई सुरक्षित र सहज बनाउँदै खासा खुलाएर नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्छौं,' स्थानीयसँगको भेटमा उनले भने, 'यो नाकासँग यस क्षेत्रको जनजीवन र समृद्धि प्रत्यक्ष रूपमा जोडिएको छ ।'

मन्त्री चौलागाईंले कोदारी नाकासम्म पुग्ने सडक अत्यन्त जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै यसको स्तरोन्नतिलाई प्राथमिकतामा राखिने बताए । व्यापार, आवतजावत तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण रहेको उक्त सडक सुधारमा ढिलाइ गर्न नहुने उनको भनाइ थियो । 

शुक्रबार सुकुटे पुगेको मन्त्रीसहितको टोलीमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, सिन्धुपाल्चोकका प्रतिनिधि, इन्जिनियर पनि सहभागी थिए । उनले सम्बन्धित निकायलाई कामलाई तीव्र र प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिँदै सरकार यस विषयमा गम्भीर रहेको स्पष्ट पारे । 

अनुगमनका क्रममा स्थानीयवासीले सडकको दयनीय अवस्थाका कारण दैनिक आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए । उनीहरूले सडक स्तरोन्नति र पहिरो नियन्त्रणका काम शीघ्र अघि बढाउन माग गरेका छन् । 

यसैबीच, गत महिना डढेलोका कारण फैलिएको धुँवा हटेसँगै सिन्धुपाल्चोकको उत्तरी भेगको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । तातोपानी नाका आसपास आवतजावत बढ्न थालेको छ भने साना व्यापार–व्यवसायमा समेत चहलपहल देखिएको छ । 

लिपिङ र तातोपानी बजारमा सवारीसाधनको चाप बढेसँगै नाका पुनः चलायमान हुने आशा स्थानीयमा पलाउन थालेको छ ।

भौगोलिक रूपमा विकट भोटेकोशी र बाह्रबिसे क्षेत्रका बासिन्दा सीमित कृषि उत्पादन र रोजगारी अभावका कारण वैदेशिक रोजगारी वा नाकामुखी साना व्यापारमा निर्भर रहँदै आएका छन् । 

पछिल्लो समय व्यापारिक गतिविधि बढ्दै गए पनि चिनियाँ खासा बजार पूर्णरूपमा सञ्चालनमा नआउँदा नाका अझै आफ्नो पूर्ण क्षमतामा चल्न सकेको छैन ।२०७२ को भूकम्प र कोरोना महामारीपछि व्यापार क्रमशः सामान्यतर्फ फर्किए पनि निर्यात र मानिसको आवतजावत अझै लगभग ठप्प छ । हाल मितेरी पुल नजिकका करिब दुई दर्जन साना पसलसम्म पुगेर मात्र सीमावासीले घरायसी सामग्री किन्न पाउँछन् । 

स्थानीयका अनुसार घरायसी प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रमा प्रवेश अनुमति दिइन्छ । झन्डै तीन अर्ब रुपैयाँको बजेटसहित बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडक निर्माण सुरु भइसकेको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully