फरक–फरक सीप सिकेका निकुञ्ज क्षेत्रका युवाहरू वन्यजन्तु संरक्षणमा जुट्नुका साथै बारिस्ता, कुक र गाइड जस्ता पेशामा संलग्न हुन थालेका छन् ।
What you should know
चितवन — दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघलगायतका जीवजन्तुको मुख्य बासस्थल चितवन राष्ट्रिय निकुञ्ज आडमा बसोबास भएका युवायुवतीले संरक्षण सम्बन्धी ज्ञानका साथै आयआर्जनका लागि सीपमूलक तालिम पनि पूरा गरेका छन् । चितवन निकुञ्जका २१ मध्यवर्ती उपभोक्ता समिति छन् । तीमध्ये चार र पर्सा निकुञ्जको एक उपभोक्ता समितिका एक सय युवाले यस्तो तालिम पाएका हुन् ।
आशा महतो नारायणगढको ब्ल्याक फरेष्ट बेकरीमा कुक छन् । उनले यहाँ काम सुरु गरेको आउँदो वैसाखमा एक वर्ष पूरा हुन्छ । आशाको घर भरतपुर महानगरपालिका–२७ मेघौलीनजिकको गाउँ पर्साढाप ढेवौली हो । जुन गाउँ चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्दछ ।
आशाले कुक सम्बन्धी ४५ दिने तालिम पूरा गरेर प्रमाणपत्र बुझेसँगै काम पनि पाएकी हुन् । घरमा आमाबुबा, दुई जना दाई र बहिनी पनि छन् । सीप सिकेर काम सुरु गर्दा परिवारमा पनि सहयोग पुगेको आशाले बताइन् । ‘दाईहरु पनि काममै हुनुहुन्छ । म पनि लागेपछि परिवारमा धेरै राहत भएको छ । हाम्रो गाउँ निकुञ्जबाट नजिकै हो । जनावरले दुख दिन्छन् भन्ने मान्यता थियो । पछि जनावरको महत्व जान्न पाइयो । साथै रोजगार दिने तालिम पनि पूरा भयो,’ आशाले भनिन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती–१३ ट्याङ्ग्रीका २४ वर्षीय दिनेशकुमार मतहो नेचर गाइड हुन् । पर्यटकलाई सुरक्षित रुपमा जंगल घुमाउनु र जंगलमा भेटिने देखिने वनस्पति, चरालगायत सानाठूला हरेक खालका जीव जनावरका बारेमा जानकारी दिन उनी सिपालु छन् । उनले पनि काम सुरु गरेको वर्ष दिन हुँदैछ । ‘निकुञ्ज आडमा घर छ । तालिमले निकुञ्ज घुमाएरै आर्जन गर्ने बनायो,’ उनले भने ।
निकुञ्जको हरेक मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत समुदायमा आधारित चोरी सिकारी नियन्त्रण इकाइ (सिबिएपियु) हुन्छन् । सिबिएपियुमा युवाहरु बसेर वन्यजन्तुको चोरी सिकार रोक्न सचेतनामूलक कार्यक्रम गर्दछन्, वन्यजन्तुका कारण समुदायमा समस्या नआउनु भनेर निकुञ्ज प्रशासनलाई सघाउँछन् । निकुञ्जबाट बाहिर निस्केका वन्यजन्तुको उद्धारका लागि समयमै सूचना दिन्छन् ।
चितवन निकुञ्जको मध्यवर्ती उपभोक्ता समितिमध्ये रत्ननगरको मृगकुञ्ज, माडीको पाँचपाण्डव, पश्चिमको मेघौली र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को लामीचौर उपभोक्ता समिति तथा पर्सा निकुञ्जको मनहरी उपभोक्ता समितिका युवाहरुले तालिम पूरा गरेका छन् । एक उपभोक्ता समितिबाट ३० वर्षभन्दामूनिका १५ र त्योभन्दा माथिका पाँच जना सक्रिय युवा संरक्षणकर्मीले तालिम लिएका हुन् ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले यो तालिम सञ्चालन गरेको हो । डब्लुडब्लुएफले बागमती प्रदेशमा हुने वन्यजन्तु र तिनका अंगको अवैध कारोबार र व्यपार नियन्त्रणका लागि युवाहरुलाई तयार गरेको हो । यो प्रोजेक्टको संयोजन गरेका डब्लुडब्लुएफ नेपालको ‘हेड अफ वाइल्ड लाइफ ट्रेड मनिटरिङ’ माधव खड्काले नयाँका साथै अनुभवीलाई पनि समेटेर तालिम दिएको बताए ।
‘जो ३० वर्षभन्दा कम छन् उनीहरुलाई हामीले युथ च्याम्पियन भनेका छौं । ३० देखि ४० वर्षका जो सिबिएपियुमा काम गरी रहेकाहरुलाई कन्जर्भेसन च्याम्पियन भनेका छौं । हरेक उपभोक्ता समितिबाट १५ जना युथ च्याम्पियन र पाँच कन्जर्भेसन च्याम्पियन छनौट गर्यौं,’ खड्काले भने । जसमध्ये ४० जना युवती थिए। उनीहरुले फरक–फरक पाँच विधामा तालिम पाएका छन् ।
सहभागीमध्ये सबैभन्दा धेरैले कफी बनाउने बारिस्ता तालिम ४० जनाले पूरा गरे । त्यसैगरी नेचर गाइड २५ जना, कुक २५, बेकरी ७ र बेटर तालिम ३ जनाले पूरा गरे । तालिम पूरा गरेका प्रायःले काम पनि सुरु गरेका छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी)को कोर्ष अनुसार तालिम पूरा गरेर प्रमाणपत्र पाएका कारण उनीहरु सबै हिसाबले दक्ष भएको खड्का बताउँछन् । डब्लुडब्लुएफका नेपाल निर्देशक घनश्याम गुरुङ विश्वमा वन्यजन्तुको अवैध चोरीसिकार र कारोबार ठूलो समस्यामा रहेको र नेपालमा बागमती प्रदेश यस्तो गैरकानुनी कामबाट धेरै प्रभावित रहेको बताउँछन् ।
‘विश्वमा अवैध कारोबार हुनेमा वन्यजन्तु र तीनको अंगको व्यपार चौथो नम्बरमा छ । यो निकै गम्भीर विषय हो। बाघ, गैंडाको चोरीसिकार र अंगको कारोबार रोक्न युवालाई सजग गराउनु छ । संरक्षणमा जुट्नेहरुले सीपमूलक तालिम पाए जीवन चलाउने आधार बन्छ,’ गुरुङले भने । त्यसैले संरक्षण सम्बन्धी ज्ञान दिँदै उनीहरुलाई रोजगारमा पनि लगाउन दुई वर्षका लागि परियोजना चलाएको उनले बताए ।
मार्चसँगै दुई वर्षको यो प्रोजेक्ट पनि सकिने छ । तर संरक्षणमा यसको प्रभाव राम्रो पर्ने आशा खड्काले व्यक्त गरे । ‘तालिम लिएकाहरुले आफ्नो काम पनि गरेका छन् संरक्षणमा पनि जोडिएका छन् । हाम्रो उद्देश्य उहाँहरुलाई सीप सिकाउनु त छदै थियो उहाँका परिवार आफन्त मात्रै हैन छरछिमेक र गाउँलेहरु पनि अवैध व्यपार र चोरीसिकार विरुद्ध लाग्छन् भन्ने हो । त्यो पनि पूरा हुन्छ,’ उनले भने ।
