एसईईको तयारी प्रभावकारी बनाउन उनीहरुलाई आवासीय सुविधा सहित पढाउन थालिएको हो । विज्ञान, गणित र अंग्रेजी विषयमा कमजोर र आत्मविश्वास कमी भएकालाई लक्षित गरेर तयारी कक्षा संचालन गरेको हो ।
What you should know
दोलखा — तामाकोसी गाउँपालिका–३ सितापाइला माविकी एसईई परीक्षार्थी अनुस्का भण्डारी चार महिनादेखि विद्यालयमै बसिरहेकी छन् । उनको खानपानको व्यवस्था पनि विद्यालयमै छ ।
विद्यालयमै बस्न थालेपछि उनको दैनिकी फेरिएको छ । आजकाल बिहान ५ बजे उठेर एक घण्टापछि खाजा खान्छिन् । त्यसपछि विद्यालयले सञ्चालन गरिरहेको एसईई तयारीमा कक्षामा पुग्छिन् । सबेरै सुरु हुने सिक्ने सिकाउने क्रम राति १० बजेसम्म चल्छ ।
उनी जस्तै उक्त विद्यालयबाट एसईईमा सहभागी हुने २० छात्राछात्रा चार महिनाभन्दा धेरै समयदेखि विद्यालयमै बसिरहेका छन् । परीक्षाको तयारी प्रभावकारी बनाउन उनीहरुलाई आवासीय सुविधा सहित पढाउन थालिएको हो । दैनिक तालिका अनुसार शिक्षक पनि विद्यालयमै बस्छन् । परीक्षार्थी सँगसँगै खान्छन् र उनीहरुको पढाईमा देखिएका समस्या समाधान गर्छन् । विज्ञान, गणित र अंग्रेजी विषयमा कमजोर र आत्मविश्वास कमी भएकालाई लक्षित गरेर तयारी कक्षा संचालन गरेको हो ।
अंग्रेजी र विज्ञान विषयमा आफूलाई कमजोर महशुस गरेकी भण्डारीले तयारी कक्षामा सहभागी भएपछि आत्मविश्वास बढेको सुनाइन् । विद्यालयबाट फर्किएपछि घरको कामकाज गर्नुपर्ने बाध्यताले सिकाई कमजोर बनेको उनले बताइन् । विद्यालयमै साथीहरुसित बसेर पढ्दा आफ्नो कमजोरी सुधार गर्ने मौका मिलेको उनको भनाई छ । ‘घरमा कामकाजले खासै अध्ययन गर्न पाइदैनथ्यो,’ उनले भनिन्, ‘घरमा पढ्दा नबुझेको विषयबारे सोध्न विद्यालयमै पुग्नुपर्थ्यो ।’
गाउँपालिकाका ८ वटा विद्यालयका १ सय ८६ परीक्षार्थी अहिले विद्यालयमै बस्छन् । विद्यालयमै खान्छन् । परीक्षाको तयारीमा मग्न छन् । पालिकाभरिको विद्यालय सुधार कार्यक्रम अनुसार गाउँपालिकाले प्रत्येक एसईई दिने विद्यार्थीकालागि आवास, खानपान र तयारी कक्षाको व्यवस्था गरेको छ । पालिकाले विद्यार्थीलाई बिहान–बेलुका खाना र दिनमा तीन पटक खाजाको व्यवस्था गरेको छ ।
तामाकासी–५ सहरेको जनजाग्रिति माध्यमिक विद्यालयकी सलिना खड्काले कमजोर विषयमा अतिरिक्त तयारी गर्न पाउँदा पढाई सुधार भएको बताइन् । तयारी कक्षापछि परीक्षालाई लिएर आत्मबल बढेको उनले सुनाइन् । ‘पढ्दै घरधन्दा पनि गर्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘परीक्षाकै अतिरिक्त तयारीका लागि सदरमुकाम वा अन्य ठाउँ धाउनुपर्ने बाध्यता हुन्थ्यो, त्यसमाथि आर्थिक पनि समस्या हुन्थ्यो, विद्यालयमै साथीहरुसँग बसेर कमजोर विषय सुधार गर्ने मौका पाउँदा आत्मबल बढेको छ ।’
विज्ञान विषयमा कमजोर हुँला चिन्तित तामाकोसी–२ झुलेको जनप्रभात माविका सुशान्त केसीले विद्यालयमै अतिरिक्त कक्षा र शिक्षकसँग हरेक दिन छलफल गरेर कमजोरी सुधार्ने मौंका मिलेको बताए । ‘शिक्षकले आफ्नो कमजोरी नजिकबाट बुझ्नुभयो, समयमै कमजोरी सुधार्ने मौका पाएर,’ उनले भने, ‘हरेक दिन शिक्षकले परीक्षाका लागि चिन्ता नलिन सुझाव दिने र सुधार गर्ने विषयमा सहयोग गरिदिनुभयो ।’
पालिकाले चार महिनाकालागि खाजा–खाना, बस्न र अतिरिक्त कक्षा सञ्चालनमा प्रत्येक विद्यार्थीलाई १३ हजारका दरले लगानी गरेको छ । कुनै कुनै विद्यालयमा अभिभावकले प्रति विद्यार्थी ५ पाथी चामल सहयोग गरेका छन् । कतिपय विद्यालयमा आलु लगायत तरकारी सहयोग गरेका छन् । पालिकाले आफ्नो नानीबाबुको भविष्य उज्जवल हुन्छ भनेर लगानी गरेकाले आफुहरुले पनि गक्ष अनुसार सहयोग गरेको तामाकोसी–४ मालुका सुमन मिजारले बताए । उनकी छोरी यस पटक एसईईमा सहभागी हुँदैछिन् ।
‘घरमा बसेर तयारी गरेको भन्दा विद्यालयमै बसेर तयारी गर्ने मौका पालिकाले मिलाइदियो,’ उनले भने, ‘घरमा काम धन्दा, घाँसदाउरा पनि गर्नुपर्ने बाध्यता हुन्थ्यो, बाहिर पठाउन सकिँदैन्, पालिकाले तयारीकालागि अभियान चलाएकाले मैले पनि सके अनुसारको विद्यालयलाई सहयोग गरेको छु ।’
पालिकाले शिक्षामा लगानी बढाएर विद्यालय सुधार कार्यक्रम संचालन गरेकोमा खुसी लागेको उनले बताए । विद्यालयमै बसेर लामो समयदेखि तयारी थालिरहेका विद्यार्थीलाई मानसिक बोझ हुन नदिन मनोरञ्जनका कार्यक्रम गर्ने गरिएको जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक अमितकुमार सेवा नेपालीले बताए ।
‘हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म शिक्षक र विद्यार्थी तयारी कक्षामा हुन्छन्, म पनि उहाँहरुसँगै विद्यालयमै बस्छु, विद्यार्थीकै मेसमा खान्छु,’ उनले भने, ‘शिक्षक र विद्यार्थीको गुनासो सुन्ने, अपुग भएका कुरा जुटाउने र आफै पनि अध्ययापनमा सहभागी हुने गरेको छु ।’
शिक्षक र विद्यार्थीको मेहनतले यस पटक नतिजामा सुधार हुने अपेक्षा गरेको उनले बताए । ‘विद्यार्थीलाई पोषण अभाव हुन नदिन बाहिरी भन्दा गाउँघरकै खानपानको व्यवस्था गरेका छौं, कहिले काँही माछामासु पनि खुवाउँछौं,’ उनले भने, ‘पालिकाले निकै सकरात्मक रुपमा सहयोग गरेर अभियान संचालन गरेको छ, अभिभावकले सहयोग जुटाएर गरेका छन् ।’
गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रम अनुसार विद्यार्थी अनुपात कम भएका विद्यालयको तह घटाउनेदेखि शिक्षक अपुग भएकाको पुनारावलोकन गरेर व्यवस्थापन गर्न थालेको छ । पालिकास्थित १२ माध्यमिक विद्यालयलाई तह घटुवा गरेर ८ वटामा झारेको छ । नतिजा सुधारका लागि प्रति एसईई परीक्षार्थी १३ हजार लगानी गरेको छ । केही विद्यालयमा कक्षा ८ बाटै विद्यार्थीलाई बिहानी अतिरिक्त कक्षा सञ्चालन अभियान सुरु गरेको छ । कक्षा ८ र ९ मा अध्ययनका लागि टाढाबाट आउनेलाई विद्यालयमै खाजा र बिहान बेलुकीको खानासहितको आवासिय सुविधा प्रदान गरेको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी अनुपात र सिकाई कमजोर भएकाले पालिकाभरि शैक्षिक सुधार अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले बताए । पालिकाको आन्तरिक स्रोतबाट विद्यालयमा पोषणसहित शिक्षण सिकाई बढाउन र नतिजा सुधार गरेर विद्यालय नमूना बनाउन लगानी गरिएको उनले बताए । आगामी बर्षबाट एसईई दिने विद्यार्थीलाई वर्ष भरिनै विद्यालयमै निशुल्क आवाससहित खाना–खाजाको व्यवस्था गरिने उनले बताए ।
कक्षा ८ र ९ का लागि बिहानको खाजा र खाना पालिकाले व्यवस्थापन गर्ने र टाढाबाट आउनुपर्ने विद्यार्थीलाई आवास सुविधा उपलव्ध गराउने गरी बजेट विनियोजन गर्ने लक्ष्य राखेको बताए । ‘विद्यालयमा विद्यार्थी अनुपात र सामुदायिक विद्यालयमा आर्कषण घट्दो छ,’ उनले भने, ‘बेलैमा स्थानीय तहले सुधारका प्रयास नगर्ने हो भने गाउँ रित्तिने डर छ, शिक्षण सिकाईमा पनि निकै मजबुत छन् भनेर बुझाउन र बालबालिकाको पढाईलाई लिएर गाउँ छाड्ने क्रम रोक्न अभियान छौं ।’
पालिकाले गत वर्षबाट नतिजा सुधार र हरेक बालबालिकाको खातामा प्रत्येक महिना १ सय रुपैयाँ बचत अभियान चलाएको छ । यसले पालिकाभरीका विद्यार्थीको खातामा प्रत्येक महिना सय रुपैयाँ बचत हुन्छ । ‘आगामी वर्ष पोषणसहित शैक्षिक सुधारका लागि सानै कक्षाबाट अंग्रेजी भाषा माध्यममा अध्यापन गराउँछौं, केहिमा त सुरु पनि भइसकेको छ,’ उनले भने, ‘स्रोतको व्यवस्थापन गरेर हाम्रो पालिकाभरिका बालबालिकाको शिक्षण सिकाईलाई अव्वल बनाउने प्रयासमा लागेका छौं, शिक्षक र अभिभावकले पनि त्यहीँ अनुसार सहयोग गर्नुभएको छ ।’ बालबालिकालाई गुणस्तरिय शिक्षाका लागि गाउँ छाड्ने क्रम रोक्ने मात्र होइन छाडेकालाई पनि फर्काउने अभियान सञ्चालन गर्ने तयारी गरिरहेको उनले बताए ।
