चितवन निकुञ्जमा सेनाको पोशाकमा हतियारसहित छिरेकाहरुलाई समाउन सहयोगी बन्यो ‘स्पाइ क्यामेरा’

सेनाको पोशाक र भरुवा बन्दुकसहित निकुञ्ज छिरेका रामशरण बिकलाई स्पाइ क्यामेराको मद्दतले अन्ततः नियन्त्रणमा लिइएको छ, संरक्षणका लागि सुरक्षा र प्रविधि दुवै सक्रिय छन्।

चैत्र ५, २०८२

रमेशकुमार पौडेल

'Spy camera' helps catch armed intruders in Chitwan National Park wearing military uniforms

What you should know

चितवन — सेनाको पोशाक, साथमा भरुवा बन्दुक, यस्तो तस्बिर चितवन निकुञ्जका अधिकारीहरुका अगाडि नआएको भए सायदै समातिने थिए रामशरण विक । विक र अर्को एकजना निकुञ्जभित्र छिरेको तस्बिर जंगलमा राखेको स्पाइ क्यामेराले खिचेर निकुञ्जको सूचना कक्षसम्म पुर्‍याएको थियो । निकुञ्जले केही समययता शंवेदनशील क्षेत्रहरुमा स्पाइ क्यामेराहरु जडान गरेको छ ।

‘गस्ती भइरहेको हुन्छ । यसका साथै खास खास ठाउँहरुमा हामीले प्रविधिको पनि सहयोग लिने गरेका छौं । स्पाइ क्यामेराले हामीलाई पछिल्लो समय महत्त्वपूर्ण सफल्ता पनि दिएको छ,’ चितवन राष्ट्रिय निकुञ्जको प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले भने । गएको असार २९ गते निकुञ्जमा राखेकामध्ये एउटा स्पाइ क्यामेराले पठाएको तस्बिरले निकुञ्जका अधिकारीहरुलाई झस्कायो ।

सेनाको पोशाक लगाएका दुईजना त्यस तस्बिरमा देखिन्थे । साथमा हतियार र झोला थिए । निकुञ्जको टोली तत्कालै सक्रिय भयो । एकजना व्यक्ति समातिए पनि । उनी थिए पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका अक्कलबहादुर विक । तर रामशरण विक तत्काल समातिन सकेनन् । रामशरण गैंडा मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरी छुटेका व्यक्ति थिए । 

निकुञ्ज कार्यालयबाट प्राप्त विवरण अनुसार बिकलाई यसअघि चितवन निकुञ्जले गैंडा मुद्दामा २०६७ सालमा १५ वर्ष कैद हुने फैसला गरेको थियो । सर्वोच्च अदालतले त्यसलाई १० वर्षमा घटाएको थियो । कैद भुक्तान गरी छुटेका बिक फेरि गैंडा मार्ने नियत र योजनाले नै सहयोगीका साथ निकुञ्ज छिरेको ठहर निकुञ्जका अधिकारीहरुले गरे । 

उनको खोजी तीव्र बनेको थियो । मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेवटका राकेश लामगादे भनेर पनि चिनिने रामशरण बिकलाई समाउन पाँच महिना लाग्यो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्जमा सुरक्षाका लागि तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले बिकलाई गएको मंसिर २५ गते चितवन खैरहनी नगरपालिका–६ पुरानो पर्साबजार इलाकाबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई समाउन प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सिआईबी)समेतको सहयोगमा लिनु परेको थियो । विकलाई चितवन निकुञ्जले गैंडा मार्ने उद्योग (प्रयास गरेको)मा मुद्दा दायर गरेको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले जानकारी दिए । यसका साथै भरुवा बन्दुकसहित समातिएका हुँदा हात हतियार तथा खरखजहना मुद्दा पनि दायर भएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गैंडा मुद्दामा विकलाई अदालतले दुई लाख रुपैयाँ धरौटी माग गरेको जानकारी दिए । हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको थियो । 

जसका कारण उनी हाल कारागारमा नै छन् । त्यसअघि पक्राउ परेका अक्कलबहादुर विकविरुद्ध पनि यही मुद्दा दायर भएको थियो र अदालतको आदेश पनि यस्तै आएको थियो । तर जेनजी आन्दोलनका कारण भदौ २५ गते बिहान भरतपुर कारागारबाट बाहिरिएका अक्कलबहादुर त्यसपछि कारागार नफर्केको सूचना अधिकारी थापा मगरले बताए । अक्कलबहादुर लगायत गैंडा र अन्य वन्यजन्तु मुद्दामा कारागारबाट फरार रहेकाहरुको खोजी तीव्र बनाएको उनले सुनाए । जेन–जी आन्दोलनपछि गैंडा लगायतका वन्यजन्तु मुद्दामा भरतपुर कारागारमा रहेकामध्ये १७ जना फरार छन् । 

निकुञ्जका विभिन्न २५ ठाउँमा यस्ता स्पाइ क्यामेराहरु रहेका छन् । स्पाइ क्यामेराको सेन्सरले तत्कालै फोटो खिचेर पठाउँछ । गस्ती टोली तत्कालै सक्रिय भए पनि टाढा भएका कारण कहिले काही तत्कालै समाउन भने गाह्रो हुने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पन्तले बताए । निकुञ्जमा सातवटा ड्रोनहरु पनि रहेको र विशेष अवस्थामा यसको पनि प्रयोग हुने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु ठुलो एकसिंगे गैंडा, पाटे बाघ लगायतका जीवजन्तुहरुको मुख्य बासस्थलहरु हो । यस्ता जीवजनावरहरु चोरी सिकारीले मार्ने पनि गरेका कारण संरक्षणका लागि निकुञ्ज प्रशासन र त्यहाँ तैनाथ नेपाली सेना सक्रिय रहँदै आएको छ । निकुञ्जमा आठ सयको हाराहारीमा सेनाहरु तैनाथ छन् । चोरी सिकारीको चुनौती रोक्न प्रविधिको पनि सहयोग लिएको पन्त बताउँछन् ।

पछिल्लो समय २०८० कात्तिक मसान्तमा निकुञ्जको पुर्वी क्षेत्र चपरचुलीमा दुईवटा गैंडा तस्करहरुले खाल्डोमा पारेर मारेका थिए । त्यसयता चोरी सिकारीले गैंडा नमारेको निकुञ्ज प्रशासनको दाबी छ । गैंडा, बाघ लगायतका दुर्लभ वन्यजन्तु मारेमा, यसको अंगको कारोबार तथा ओसारपसार गरेमा १० लाख रुपैयाँसम्म जरिवना या १५ वर्षसम्म कैद या कैद र जरिवाना दुवै हुन सक्ने कानुनी व्यवस्था छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully