डढेलो नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मीको समन्वयमा प्रयास भइरहे पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
रामेछाप — उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित चरी भीरमा गए राति करिब १० बजेदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
उमाकुण्ड–१ का वडा सचिव कविता बिस्टका अनुसार केदारे भन्ने स्थानबाट सुरु भएको आगो तीव्र रूपमा फैलिँदै गएको छ। डढेलोका कारण माथिल्लो क्षेत्रका केही घरहरू जोखिममा परेका छन् । स्थानीयवासीलाई सतर्क रहँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
आगलागी नियन्त्रणका लागि वडाध्यक्षसहितको टोली घटनास्थलतर्फ गएको वडा सचिव बिस्टले बताइन् । आगो कसले र किन लगायो भन्नेबारे हालसम्म कुनै स्पष्ट जानकारी प्राप्त नभएको पनि उनको भनाइ छ ।
गुम्देल वडा करिब ८० प्रतिशत वन क्षेत्रले ढाकिएको हुँदा डढेलोका कारण जडीबुटी, वनस्पति तथा जंगली जनावरमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
डढेलो नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी र सम्बन्धित निकायको समन्वयमा प्रयास भइरहेको भए पनि आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
