कसरामा सुरु भयो बिक्रम बाबाको १५ दिने पूजा

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिक निकुञ्जभित्र रहेको जंगलको सालको रुखमूनि बिक्रम बाबाको पूजा हुने गरेको छ । थारु समुदायले विशेष आस्था र विधिका साथ गरिने यो पूजामा पछिल्लो समय अन्य समुदायबाट पनि ठूलो संख्यामा सहभागी हुने गरेका छन् ।

चैत्र ५, २०८२

रमेशकुमार पौडेल

15-day worship of Bikram Baba begins in Kasara

What you should know

चितवन — चैते दसैंका बेला चितवनका आदिवासी थारु समुदायले १५ दिनसम्म गर्ने बिक्रमबाबाको पूजा बिहीबारबाट सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिक निकुञ्जभित्र रहेको जंगलको सालको रुखमूनि बिक्रम बाबाको पूजा हुने गरेको छ । थारु समुदायले विशेष आस्था र विधिका साथ गरिने पूजामा पछिल्लो समय अन्य समुदायबाट पनि ठूलो संख्यामा सहभागी हुने गरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले गत वर्ष विक्रम बाबाको पूजा गर्न तीन लाख जना आएको बताए । थारु समुदायका गुरौं र ब्राहृमण पुजारीहरुबाट बिहीबार विधिपूर्वक पूजा सुरु भएको हो । चैते दसैंको अष्ठमी, नवमी र दशमीमा अत्याधिक भीड हुने बिक्रम बाबामा पूजा गराउँदै आएका पुजारी बासुदेव सापकोटाले बताए । औंसीका दिनदेखि सुरु भएको पूजा पूर्णिमासम्म जारी रहन्छ । 

आदिवासी थारु समुदायका गुरौं जल्लु महतोले २०३० सालमा नै पहिलो पटक बिक्रम बाबाको थानमा आएको बताए । त्योबेला चितवन राष्ट्रिय निकुञ्ज भर्खर स्थापना भएको थियो । ‘हामीले झाडीभित्र रहेको बित्रम बाबालाई खोज्नु परेको थियो । म, बाबा, बछौलीको जिम्दार र कठारको जिम्दार भएर यहाँ आएका थियौं । झाडी सफा गरेर पूजा पाठ गरेर जान्थ्यौं । फाट्टफुट्ट मान्छे आउँथे,’ जल्लुले भने । चिताएको कुरा पूरा हुने विश्वासमा बिक्रम बाबाको पूजा हुने उनले बताए ।

२०/३० वर्षयता थारु समुदायका साथै हिन्दूधर्म मान्ने अन्य समुदायबाट पनि धेरै जना आउने गरेको उनले बताए। ‘मनोकामना पूरा होस् भनेर पूजा गर्न आउँछन् । मनोकामना पूरा भएपछि भाकल चढाउन आउँछन् । यहाँ बोका र परेवाको बलि चढ्छ । पहिला पहिला काठको चप्पल अर्थात खराउ, लौरो र तुम्बा पनि चढाउँथे । अहिले यो चढाएको देखिँदैन,’ जल्लुले भने । जल्लुसहित अरु गुरौं नारायण महतो, पुरेन्द्र चौधरी र बलिराम महतोले थारु विधि अनुसार पूजा गरेका थिए ।

थारुहरुको आस्था जोडिएको ठाउँ भएका कारण थारु कल्याणकारिणी सभाले तीन/चार वर्षयता पूजा सुरु गर्दै आएको सभाका चितवन सभापति ललित चौधरीले बताए । चितवन निकुञ्जको पहिटानी मध्यवर्ती उपभोक्ता समिति र घैलाघारी मध्यवर्ती उपभोक्ता समितिले पूजा व्यवस्थापनको काम गर्दै आएका छन् । ‘१५ दिनसम्म पूजा हुँदा लाखौं आउने गर्दछन् । निकुञ्ज जस्तो संवेदनशील क्षेत्र पनि हो । त्यसैले गम्भीर भएर यहाँको व्यवस्थापन गर्नु परेको छ,’ पटिहानी मध्यवर्तीका अध्यक्ष साजन महतोले भने ।

निकुञ्जको जंगल भएका कारण जंगली जनावर गैंडासँग जम्काभेट हुने खतरा छ । जंगली भाले हात्ती ‘ध्रुबे’ पनि सोही क्षेत्रमा घुम्ने गरेका कारण सो ठाउँमा जोखमि पनि छ । ‘निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना, निकुञ्ज प्रशासन, मध्यवर्तीका स्वयंसेवकले यो बेला निकै नै ध्यान दिएर काम गरि रहेका हुन्छन् । धार्मिक मान्यता र विश्वासले पूजा गर्न लाखौं आउनुहुन्छ । साथै यो क्षेत्र वन्यजन्तु ओहरदोहर हुने ठाउँ पनि हो । त्यसैले यो कुरा सबैले ख्याल राख्न आवश्यक छ,’ अध्यक्ष महतोले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully