सोमबार साँझ करिब ६ बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा मंगलबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन।
रामेछाप — सोमबार साँझ आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण रामेछाप जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ६ बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा मंगलबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन।
मन्थलीका बासिन्दाले २०७२ सालपछि यति शक्तिशाली हावाहुरी पहिलो पटक आएको बताएका छन्। हावाहुरीका कारण खिम्ती र सिन्धुलीबाट मन्थली सब–स्टेसनमा आउने दुवै ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ।
वितरण केन्द्रले जारी गरेको सूचनामा हावाहुरी, वर्षा र चट्याङका कारण विभिन्न स्थानमा विद्युत् लाइनमा समस्या आएको उल्लेख गरिएको छ। अहिले प्राधिकरणका कर्मचारीहरू सम्भावित खराबी (फल्ट) खोज्न फिल्डमा खटिएका छन् र सकेसम्म छिटो विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ।
प्राधिकरणका अनुसार हावाहुरीका कारण कतै रुख तथा हाँगाबिँगा लाइनमा खसेको, बाहिरी वस्तु उडेर तारमा अड्किएको, तार चुँडिएको वा पोल ढलेको हुन सक्ने भएकाले पूर्ण निरीक्षण नगरी लाइन सञ्चालन गर्दा जोखिम हुन सक्छ।
त्यस्तै चट्याङका कारण कसैको घरको मिटर वा वायरिङमा क्षति पुगेको आशंका भएमा तुरुन्त मेन स्विच बन्द गरेर सुरक्षित रहन नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले उपभोक्तालाई आग्रह गरेको छ।
