रामेछापमा आधा सिलिन्डर ग्यास उपभोक्तालाई महँगो

शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको व्यवस्था लागू गरेपछि पूरै किन्दाको भन्दा महंगो परेको स्थानीय बताउँछन्।

फाल्गुन ३०, २०८२

नवराज श्रेष्ठ

Half a cylinder of gas becomes expensive for consumers in Ramechhap

What you should know

रामेछाप — रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण थालिएको छ। शुक्रबरसम्म पूरा सिलिन्डर ग्यास खरिद गरिरहेका उपभोक्ताहरू शनिबारदेखि भने आधा सिलिन्डरमै सीमित हुन् बाध्य भएका छन्, त्यो पनि महँगो मूल्य तिरेर।

नेपाल आयल निगमले भने अहिलेसम्म आयातमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ। ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको व्यवस्था लागू गरेपछि पूरै किन्दाको भन्दा महंगो परेको स्थानीय बताउँछन्।

मन्थलीका गोविन्द हायुले मन्थली बजारमा ग्यासका लागि अहिलेसम्म लाइन बस्नु नपरे पनि उपभोक्ताले माग अनुसार भने ग्यास पाउन नसकेको बताए । आधा सिलिन्डर ग्यासको व्यवस्था गरिए पनि त्यसले समस्या समाधानभन्दा उपभोक्तामाथि थप आर्थिक भार र सास्ती थपेको रामेछाप नगरपालिका–८ का लेखबहादुर विकको भनाइ छ।

उनले भने, 'अहिले बजारमा आधा सिलिन्डर ग्यास मात्र पाइन थालेको छ। यसले उपभोक्तालाई झन् महँगो पनि परेको छ र सास्ती पनि थपिएको छ।'  

रामेछापमा भने ग्यास आपूर्तिमा खासै समस्या नरहेको मन्थलीका व्यवसायी राजु थापाको दाबी छ। उनका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध भइरहेको छ । उनले भने, 'रामेछापमा खासै ग्यासको अभाव छैन। आयल निगमले पर्याप्त मात्रामा ग्यास उपलब्ध गराइरहेको छ। अहिले इन्धन र ग्यासको हाहाकार भयो भन्ने भ्रम फैलाएर आधा सिलिन्डर प्रणाली लागू गरिएको जस्तो देखिन्छ।'

थापाका अनुसार प्रत्येक घरमा दुई वटा जति ग्यास सिलिन्डर राख्नु सामान्य भए पनि केही उपभोक्ताले पाँच वटासम्म सिलिन्डर राखेर स्टक गर्दा बजारमा अभाव भएको जस्तो देखिने समस्या सिर्जना भएको हो।

आयल निगमको निर्णयअनुसार अहिले ७.१ किलोको आधा सिलिन्डर ग्यास १ हजार १०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए। उनका अनुसार, 'पहिला पूरा सिलिन्डर ग्यास २ हजार रुपैयाँमा पाइन्थ्यो। अहिले आधा सिलिन्डरकै १ हजार १०० रुपैयाँ पर्छ, त्यसैले पुरानो मूल्यको तुलनामा उपभोक्तालाई केही महँगो परेको छ।'

थापाले पछिल्लो समय ग्यासको बिक्री बढेको बताए। उनका अनुसार अहिले उनले अघिल्लो महिनाको तुलनामा करिब ६०० बढी सिलिन्डर ग्यास बिक्री गरेका छन्।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully