रामेछापको उर्माखुमा पुग्यो बस, स्थानीयले गरे भव्य स्वागत

तामाङ समुदायको बाहुल्य रहेको उर्माखुमा बस सेवा सञ्चालन भएपछि स्थानीयलाई ठूलो राहत भएको उमाकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए।

फाल्गुन २८, २०८२

नवराज श्रेष्ठ

Bus reaches Urmakhu in Ramechhap, locals give grand welcome

रामेछाप —  

जिल्लाको हिमाली पालिका उमाकुण्ड गाउँपालिका–५ प्रीतिको उर्माखुमा यात्रुवाहक बस पुगेको छ। गाउँमै पहिलो पटक बस पुगेपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै तामाङ संस्कारअनुसार बसको पूजा गरी चालक, सहचालक र जनप्रतिनिधिलाई भव्य स्वागत गरेका छन्।

यसअघि उमाकुण्ड–५ को नासपातीघारीसम्म मात्र बस सेवा पुगेको थियो। अब भने बाहुनडाँडा र जिदु हुँदै  उर्माखुसम्म बस सेवा विस्तार गरिएको छ। बस उर्माखुसम्म पुगेपछि स्थानीयवासीले जनप्रतिनिधिलाई धन्यवाद दिँदै सडकलाई व्यवस्थित रूपमा कालोपत्र गर्नुपर्ने मागसमेत गरेका छन्। तामाङ समुदायको बाहुल्य रहेको उर्माखुमा बस सेवा सञ्चालन भएपछि स्थानीयलाई ठूलो राहत भएको उमाकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए। उनका अनुसार यसअघि गाउँका बासिन्दाले बस चढ्न एक घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो।

वडाध्यक्ष बस्नेतले भने, 'उर्माखुवासीलाई अब पहिलेजस्तो बस चढ्नका लागि लामो दूरी हिँड्नुपर्ने अवस्था अन्त्य भएको छ। भौगोलिक जटिलताका कारण धेरै सङ्घर्षपछि गाउँमा बस सेवा सञ्चालन गर्न सफल भएका छौं, यो हामी सबैका लागि खुसीको कुरा हो।'

उनका अनुसार वडा सदस्य सोमबहादुर तामाङ र वडा सदस्य नकुल तामाङको पहल, सहयोग र समन्वयमा उर्माखुसम्म बस सेवा विस्तार गर्न सम्भव भएको हो। अब यस रुटमा नियमित बस सेवा सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए। बस गाउँसम्म पुगेपछि आवतजावत, बजारसम्म पुग्ने सुविधा, बिरामी ओसारपसार तथा दैनिक आवश्यकताका काममा ठूलो सहजता हुने स्थानीयले अपेक्षा गरेका छन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully