हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८ हजार ८५६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप — रामेछापमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८ हजार ८५६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
जिल्लाका ९६ मतदानस्थलका २२८ मतदान केन्द्रमा प्रत्यक्षतर्फ ८७ हजार ४२ मत खसेकोमा ५.७९ प्रतिशतभन्दा बढी अर्थात् ५ हजार ४८ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ भने बदर मत कम भएको छ ।
जिल्लामा समानुपातिकतर्फ ८७ हजार ४९१ मत खसेकोमा ४.३५ प्रतिशतभन्दा बढी अर्थात् ३ हजार ८०८ मत बदर भएको छ ।
निर्वाचन अधिकारी लामिछानेले भने, 'यो पटक रामेछापमा प्रत्यक्षतर्फ धेरै मत बदर भयो । धेरै मतमा दुई चिह्नमा स्वस्तिक लगाइएको पाइयो । यसले मतदाता शिक्षामा अझै सुधार आवश्यक रहेको देखाउँछ ।' जिल्ला निर्वाचन कार्यालयका अनुसार, २०७९ सालको निर्वाचनमा रामेछापमा औसत ५.३८ प्रतिशत मत बदर भएको थियो ।
एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल मतदाता संख्या १ लाख ८७ हजार ९५२ जना रहेका थिए । रामेछापमा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
