प्रत्यक्षभन्दा समानुपातिकमा रास्वपालाई बढी मत
चितवन — तीन निर्वाचन क्षेत्र रहेको चितवनका सबै क्षेत्रको समानुपातिक मतगणना सोमबार बिहान सकिएको छ। तीनवटै निर्वाचन क्षेत्रमा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै कुल एक लाख ७३ हजार ७९२ मत ल्याएको छ।
चितवनका तीनवटै क्षेत्रमा प्रत्यक्षमा विजयी भएको रास्वपाले तीनवटै क्षेत्रमा प्रत्यक्षभन्दा समानुपातिकमा धेरै मत ल्याएको छ।
चितवन–१ को निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार रास्वपाले ५९ हजार २४३ मत ल्याएको छ। यस क्षेत्रमा प्रत्यक्षमा रास्वपाका हरि ढकाल ५८ हजार २०८ मत ल्याएर विजयी भएका छन्। चितवन–१ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले १२ हजार २२८, नेकपा (एमाले) ले १० हजार ५४३ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चार हजार ३८ मत ल्याएको छ।
२०७९ सालको निर्वाचन अघिसम्म एमालेको बलियो क्षेत्रका रूपमा चिनिएको चितवन–१ मा एमाले प्रत्यक्ष र समानुपातिक दुवैमा तेस्रो भएको छ। प्रत्यक्ष र समानुपातिक मतमा तीन निर्वाचन क्षेत्रमध्ये एमालेले चितवन–१ मा मात्रै १० हजार मत कटाउन सकेको छ। चितवन–१ मा समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई हजार ९७७ मत ल्याएको छ।
त्यसैगरी श्रम संस्कृति पार्टीले एक हजार ५४७ र बाँसुरी चुनाव चिन्ह रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक हजार ३३९ मत ल्याएको छ। यो पार्टीसँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको पनि सहकार्य छ। यी बाहेक चितवन–१ मा अन्य कुनै पनि दलले समानुपातिकतर्फ हजार मत पुर्याउन सकेनन्। समानुपातिकमा ५७ दललाई देशभरबाट मत दिन सकिने व्यवस्था थियो।
चितवनमा प्रत्यक्षतर्फको सबै क्षेत्रको मतगणना शनिबार साँझ नै सकिएर अन्तिम नतिजा घोषणा भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन–२ बाट प्राप्त विवरण अनुसार समानुपातिकमा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५४ हजार ५०९ मत ल्याएको छ। यो क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका थिए।
चितवन–२ मा समानुपातिकको अन्तिम मतपरिणाममा नेकपा (एमाले) को नौ हजार १६ र नेपाली काँग्रेसको ११ हजार ५१८ मत आएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पाँच हजार ५७० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक हजार ८१४ मत आएको छ। श्रम संस्कृति पार्टीले चितवन–२ मा समानुपातिकतर्फ एक हजार १४९ मत ल्याएको छ। यी बाहेक अरु दलले हजार मत कटाउन सकेनन्।
चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६० हजार ४० मत ल्याएको छ। प्रत्यक्षमा चितवन–३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम ५९ हजार २७७ मत ल्याएर विजयी भएकी छन्। समानुपातिकमा यो क्षेत्रमा नेकपा (एमाले) ले ६ हजार २३९, नेपाली काँग्रेसले नौ हजार १४०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६ हजार ४८९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई हजार २७३ मत ल्याएको छ।
चितवन–३ मा श्रम संस्कृति पार्टीले एक हजार २५३ मत ल्याएको छ। त्यसैगरी बाँसुरी चुनाव चिन्ह रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक हजार ७५ मत ल्याएको छ। बाँसुरी चुनाव चिन्ह भएको यो दलले चितवन–२ मा समानुपातिकमा ९८९ मत ल्याएको छ। चितवन–३ मा समानुपातिकमा हजार मत कटाउने अन्य दल छैनन्।
