मतगणना स्थल साँघुरो भएपछि रामेछापमा मतगणना ढिलाइ

राजनीतिक दल तथा उम्मेदवारले स्थान विस्तार गर्न माग गरेका छन् ।

फाल्गुन २२, २०८२

नवराज श्रेष्ठ

Vote counting delayed in Ramechhap due to cramped counting site

रामेछाप — रामेछापमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु हुने समय थप ढिला हुने भएको छ । मतगणना स्थल साँघुरो भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले स्थान विस्तार गर्न माग गरेपछि मतगणना प्रक्रियामा ढिलाइ भएको हो ।

यसअघि मन्थलीस्थित मालपोत कार्यालयमा मतगणना स्थल तयार गरिएको थियो । शुक्रबार बिहान ९ बजे बसेको सर्वदलीय बैठकले बिहान साढे ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको थियो ।

तर मतगणना सुरु गर्ने समयमा स्थल साँघुरो भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले ठाउँ बढाउन माग गरेका छन्  । त्यसपछि अहिले मालपोत कार्यालयको माथिल्लो तलाबाट मतगणना स्थललाई तल्लो तलामा सारेर व्यवस्थापन गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थान व्यवस्थापनको काम सम्पन्न भएपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।

यस निर्वाचनमा रामेछाप जिल्लामा कुल ४८.२६ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका १ लाख ८७ हजार ९५२ मतदातामध्ये ९० हजार ७१० जनाले मतदान गरेका छन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully