मकवानपुरमा ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

‘हामी तथ्यांक संकलन गरिरहेका छौं । तर, ५५ प्रतिशतभन्दा बढी मतदान भएको हाम्रो सुरक्षा निकायले तथ्यांक सकंलन गरेका छन्,’ प्रजिअ वसन्त अधिकारीले भने ।

फाल्गुन २१, २०८२

सुवास विडारी

Initial estimate: 55 percent voter turnout in Makawanpur

मकवानपुर — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा करिब ५५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मतदानको समय सीमा ५ बजेसम्म केही स्थानमा मतदाताहरु लाइन बसेर मतदान गरेको कारण अन्तिम संख्या आउन अझै केही समय लाग्नेछ । 

‘हामी तथ्यांक संकलन गरिरहेका छौं । तर, ५५ प्रतिशतभन्दा बढी मतदान भएको हाम्रो सुरक्षा निकायले तथ्यांक सकंलन गरेका छन्,’ उनले भने ।

२ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । ३७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख  हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अब क्रमशः मतपेटिका संकलन कार्य सुरु हुनेछ ।

‘मतपेटिका संकलनपश्चात सर्वदलीय सहमतिपछि हामी मतगणना प्रक्रिया अगाडि बढाउने छौं,’ ढकालले भने ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully